‘निर्वाचन गराए प्रतिकार’

Ramकाभ्रे, २६ जेठ । नेकपा–माओवादीका महासचिव रामबहादुर थापा बादलले वर्तमान कठपुतली सरकारले गराएको निर्वाचन सफल नहुने बताएका छन् । जबर्जस्ती निर्वाचन गराए त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी थापाले दिए ।

पार्टीको नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाको प्रथम राष्ट्रिय युवा भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन सभामा बोल्दै नेपालका सबै जातका युवाहरूलाई कठपुतली सरकारले गराउने निर्वाचनको प्रतिकार गरी असफल बनाउन निर्देशन दिए । ‘चुनाव गराउनु भनेको नेपाललाई सिक्किमीकरण गर्नु हो । सिक्किमीकरणबाट रोक्न पनि निर्वाचन सम्भव छैन’, उनले भने । तामाङ बसोबास भएका जिल्लाबाट करिव चार सय युवाहरू सहभागी उक्त प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले सुगौली सन्धिदेखि वर्तमान राजनीतिक अवस्थासम्म आइपुग्दा राष्ट्रिय संकटबाहेक केही भएन, देशी विदेशीहरू मात्रै होइन नेपालकै नोकरशाहहरू पनि नेपाललाई नयाँ सिक्किमीकरण तर्फ लैजान लागेको बताए ।
वर्तमान राजनीतिक संकटको निकास सरकारको राजीनामा र राजनीतिक सहमतिमा नयाँ सरकारको गठन मात्रै भएको थापाले बताए । चार दलका नाममा पेलेरै निर्वाचन हुन सक्ने भए आजसम्म निर्वाचनको मिति घोषणा भइसक्ने टिप्पणी गर्दै थापाले निर्वाचनको मिति घोषणा गर्नै धौधौ भएको सरकारले निर्वाचन गराउनै नसक्ने स्पष्ट पारे । सरकार हटेन भने आँधी तुफानले बढारेर लैजाने उनले बताए । अहिले सरकारको विघटन र राजनीतिक निकासका लागि राष्ट्रिय आन्दोलनको तयारी सुरु भएको उनले प्रष्ट पारे । प्रशिक्षण कार्यक्रममा पोलिटब्युरो सदस्य कुलबहादुर केसी ‘सोनाम’, केन्द्रीय सदस्य माइला लामा लगायतले प्रशिक्षण दिएको जिल्ला इन्जार्च हेमकले जानकारी दिए । माओवादीले प्रशिक्षणमा कार्यकर्तालाई सरकारले गराउन खोजेको निर्वाचनको प्रतिकार र भण्डाफोर गर्न परिचालनका लागि तयारी गरेको हुनसक्ने आंशका गरिएको छ ।

प्रतिक्रिया