एमाओवादी पनि निर्वाचन भाँड्ने षडयन्त्रमा : भण्डारी

विराटनगर, २६ जेठ । नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारीले एकीकृत माओवादीका कारण संविधानसभाको निर्वाचन नहुने खतरा बढ्दै गएको बताएकी छन् । सके निर्वाचनबाट, नभए राजनीतिलाई अस्थिर बनाएर आफ्नो भूमिका बढाउने अभियानमा माओवादी लागिपरेको उनको दाबी छ ।

अहिले माओवादी विभाजित भएको र जनताले उसको असली रूप देखिसकेकाले निर्वाचनमा पराजय भोग्ने आँकलनका कारण एकीकृत माओवादी पर्दापछाडि निर्वाचन भाँड्ने खेलमा लागेको छ । विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुराकानी गर्दै उपाध्यक्ष भण्डारीले भने, तर देशलाई निकास दिनका लागि निर्वाचन गर्नुको विकल्प छैन । उनले निर्वाचनमा भाग नलिने भनिरहेका नेकपा–माओवादीसहितका ३३ दल पनि निर्वाचनको वातावरण बन्दै गए भाग लिने बताए । यदि, निर्वाचनको मिति तोकेर देश निर्वाचनमा होमिने हो भने उनीहरू चुनावमा भाग लिन आउनुभन्दा अर्को विकल्प छैन उनले भने ।
पूर्वरक्षामन्त्रीसमेत रहेकी उपाध्यक्ष भण्डारीले दलहरूबीच जेठभित्रमा सहमति भएर असार पहिलो साता संविधानसभा निर्वाचनको मिति घोषणा हुने बताए । दलहरूबीचको निरन्तर संवादले सहमति नजिक पुुगिएको उनको दाबी थियो । उनले यही सरकारले निर्वाचन गराउने दाबी गर्दै मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको राजीनामा माग्नुको औचित्य नभएको बताए । दलहरूकै आग्रहमा उहाँ मन्त्रिपरिषद्को अध्यक्ष बन्नुभएको हो उनले भने, त्यसैले राजीनामा माग्नुको अर्थ छैन । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले समेत उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा त्यस्तो नभन्नु भएकाले बाहिरी हल्लाको बारेमा एमालेले टिप्पणी नगर्ने बताए ।

प्रतिक्रिया