आजदेखि एमाओवादीको केन्द्रीय समिति बैठक

mao officeकाठमाडौं : एमाओवादीको केन्द्रीय समिति बैठक आइतबार सुरु हुँदै छ । यसका लागि पदाधिकारी र संगठन विभागको संयुक्त बैठकले एजेन्डाहरूको टुंगो लगाएको छ । एमाओवादीका अध्यक्ष ‘प्रचण्ड’को निवास लाजिम्पाटमा बसेको बैठकले केन्द्रीय समितिको बैठकमा प्रस्तुत गर्ने राजनीतिक तथा समसामयिक विषयका एजेन्डा तय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका महासचिव पोष्टबहादुर बोगटीले केन्द्रीय समितिमा थप गरिने सदस्यको संख्या, पार्टीको स्थायी समिति, पोलिटब्युरो तथा विभिन्न विभागको गठनसम्बन्धी एजेन्डा टुंग्याएको जानकारी दिए ।
‘पार्टीलाई व्यवस्थित बनाउने गरी राजनीतिक कार्यक्रमहरू अगाडि सार्ने र गत माघमा सम्पन्न पार्टीको सातौँ राष्ट्रिय महाधिवेशनले पारित गरेका राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिने गरी छलफल भयो ।’ महासचिव बोगटीले भने ।
यसैगरी उत्पादन, निर्माण तथा व्यवस्थापन विभागको गठन र विभागको सम्बन्धमा कार्यदलले तयार गरेको प्रतिवेदनमाथि पनि बैठकमा छलफल भएको थियो ।
एमाओवादीले गत माघमा सम्पन्न सातौँ महाधिवेशनले राजनीतिक परिवर्तनलाई संस्थागत गर्नका लागि आर्थिक उन्नतिको प्रक्रियालाई अगाडि बढाउने योजना अगाडि सारेको थियो । यसैगरी, बैठकमा एमालेलगायतका राजनीतिक दलबाट एमाओवादीमा प्रवेश गरेका रामचन्द्र झा, उर्मिला अर्याल तथा अरू नेता तथा कार्यकर्ताहरूलाई दिइने जिम्मेवारीको विषयमा समेत छलफल भएको महासचिव बोगटीले बताए । (सौस)
आइतबार सुरु हुने केन्द्रीय समितिको बैठकले संविधानसभाको निर्वाचनलगायत पार्टीलाई व्यवस्थित बनाउने खालको योजना अगाडि सार्ने भएको छ ।
महासचिव बोगटीले राजनीतिक दलहरूबीच विवादित निर्वाचन कानुनलगायतका विषयमा पनि छलफल जारी रहेको बताए । यसका लागि तत्कालै सहमति गर्नुपर्छ भन्नेमा सबै पक्ष एकमत रहेको जानकारी दिए । दलहरूको आ–आफ्नै अडान भए पनि सहमति गर्ने कुरामा सबै सकरात्मक भएको उनले बताए ।

प्रतिक्रिया