पटाया नेभर स्लिप्स्

Seemu-jiअनलाइनमा भेटिएकी साथीले ‘कहाँ कहाँ घुमिस् त ?’ भन्ने जिज्ञासाको जवाफ टेक्स्ट गर्दै थिएँ, ‘भोलि पटाया जान्छु ।’ बैंककको ३८ डिग्री सेल्सियसको गर्मीले शरीर उमालेको अण्डाभन्दा कम भएको थिएन । होटलको रूम र सपिङ मलको एयर कन्डिसनले बचाएर राखेको थियो मलाई । उसो त स्विमिङ पुल पनि गर्मीबाट ओत लाग्ने रमाइलो गर्ने ठाउँ बनेको थियो । भैंसी आहाल बसेजसरी कम गहिरो किनारतिर शरीर डुबाएर चिसो बियर पिउनु सबैका लागि एउटा प्रिय क्रियाकलाप हुन्थ्यो त्यहाँ । त्यहाँ भेटिएकी बैंकक चिलोनकी सुन्दरी भन्दै थिई, ‘बैंककमा दिउँसो खासै इन्टरटेनमेन्ट गरिन्नँ । स्विमिङ पुलमा चिल बियरसँग हाँसको मासु खानु मात्र हो । खानु है क्रिस्पी हुन्छ !’
मैले स्योर भन्न नपाउँदै उसैको केटा साथीले प्वाक्क भन्यो, ‘तिमीले चैँ केटा हाँस छानेर खानु नी !’
हामी दुईटी जोडले हास्यौँ ।
०००
अक्कामाइ बस स्टेसनबाट एक सय चौबिस भाट बस भाँडा तिरेर पुग्दा पटाया सहर अघिल्लो रातको रासलिलाको हयाङओभरबाट उत्रेको थिएन । पहिलो भेट, पहिलोपटकको स्वाद र पहिलोपटकको आँखा जुधाई हम्मेसी भुल्दैन मान्छेले । समुद्रसँगको पहिलो भेट थियो मेरो पनि । ग्रुपका साथीहरूले निर्णय गरे, इन्डियन रेस्टुरेन्टमा खसीको मासुसँग भात खाने र छुट्टिने । अनि राति १० बजे बसस्टपमा सबैजना भेला हुने र होटल फर्कने । विश्वका विभिन्न देशबाट भिसा लगाएर मध्यम वर्गीयहरू सौन्दर्य किन्न, बेच्न र भोग्न आइपुगेका पर्यटकका हुल १ बजेपछि देखियो । सामुन्द्रिक किनारमा रोकेर राखेका क्याबिनवाला क्रुज चढेर आइसलैन्डमा रमाइलो गर्न हिँडेका जोडी देख्दा हरेकको मन हरक्क भएर आउँछ । मेल जोडीहरू, बेमेल जोडीहरू हात समातेर कम कपडामा लर्को लाएर प्रेमको मेला भर्न हिँडे जस्तो देखेरसँगै गएको नेपाली साथीले जिस्काई भ्यायो, ‘यहाँसम्म आएर पनि तिमी त्यसै फिर्‍याँै भने पटायाको अपमान हुन्छ है !
मन लागे जति फोटोहरू खिचेर लान्छु ।’
‘फोटोमात्र खिच्न कहीँ नपाएर पटाया आउनुपर्छ ?’ साथी फेरि रौसिने मुडमा उत्रियो । ‘तपाईंले भनेको कुरा नि त नेपाल मै पाइन्छ । पटाया किन आउनु पर्‍यो ?’
विदेशी फ्लेभर’ साथीले दाहिने आँखा झिम्कायो ।
०००
सँगै गएका नेपाली केटा साथीहरूले खल्तीको पर्स, एमआरपी र मोबाइल मलाई जिम्मा लाएर अलप भए । म बिचरी र स्विडिस साथी सहर घुम्न निस्कियौँ । मसाज सेन्टर, डिस्को थेक, काला सिसाले बेरिएका यौन लाइभ सो देखाउने बारहरू सबैबाहिरबाट चाहार्दा चाहार्दे साँझको प्रतिक्षामा थियाँै । छोटा पारदर्शी कपडामा देखिएका तरूनी देख्दा पूरा कपडा लाएकाले अफ्ठेरो मान्नुपर्ने स्थिति देखापर्‍यो । लौ अति नै गरी भनेर साथीले बाटो किनार लाएर स्लिभलेसमा चेन्ज गरायो । साथी अझ कराउँदै थिई, ‘तेरो पाइन्ट फुकाल भनेको ।’
०००
जंकी–जंकी स्टाइलको मुस्तन्डे विदेशी केटाहरू देखिन थालेपछि साथीले ‘प्राइस सोधाँै ?’ भन्न थाली । यसले अति गर्न थाली भनेर मैले पनि जिस्कने मुडमा ‘त्यो अक्वा नीलो जिन्स लाउनेको चैँ सोध न त’ भनेँ । साथी त साँच्ची नै सिधै त्यसैको अगाडि पुगेर मतिर औँलो तेर्साएर के भनी कुन्नी त्यो खैरे त म भएतिर आइपुग्यो ।
‘म्याडम, डु यू ह्याभ निड द सर्भिस’ भन्न थालेपछि अलि पर बसेर साथी जोड जोडले हाँस्न थाली । ‘आइ एम जस्ट किडिङ विथ माइ फ्रेन्ड, सरी ड्यूड’ मुस्किलले भनी भ्याएँ । उ आफ्नो सर्भिसको बारेमा बडो नम्र साथ भन्दै थियो । दुई घन्टा समयमा दिने सर्भिस । पैतिस सय भाटमा होटल चार्ज र बियर अफर मेनुमा पर्ने । ड्यूरेक्स चाहिँ जानेले लैजानु पर्ने । मेरो अनुहार अँधेरो हुँदै गएको देखेपछि साथीले त्यसको हात तानेर अलि पर्तिर लग्यो र एक छिनपछि भएको एउटी साथी पनि त्यहीँ खैरे जंकीसँग कुन कुनो पसी पत्तो पाइनँ । बाँकी म एक्लो बृहस्पति जस्तो पुरै पटाया सहरको डिर्पाटमेन्ट स्टोर, सपिङ मल र नयाँ स्वादको खानाका लागि रेस्टुरेन्ट चाहार्दै हिँडे । हिँड्दा–हिँड्दै थाकेपछि समुद्रको किनारमा बनाइदिएको प्रतिक्षालयको सिमेन्टीको बेन्चमा खुट्टा तन्काएर तेर्सिएँ ।
०००
‘ह्वेर आर यू फ्रम बेबी ?’ आवाज आयो ।
‘नेपाल’ मैले भरसक बोल्नु नपरोस् भन्ने मनस्थिति देखाउन टुक्के जवाफ फर्काएँ ।
‘ब्राडली केलभिन, फ्रम अष्ट्रेलिया’ आवाज गह्रौ खालको आयो ।
‘ओ ! मी ….., फ्रम नेपाल’ भनी मुस्कुराएँ ।
‘होली डेज ?’ छोटो प्रश्न गर्‍यो ।
‘यस’, सँगसँगै टाउको हल्लाएँ । भलै म नेपालबाट यूथहरूका लागि कनफ्रेन्समा भाग लिन गएको थिएँ । हरेक फरक भाषाका व्यक्तिहरू एक अर्कासँग मुस्कुराएपछि कुराको सुरुवात पहिलो प्रश्न नै ह्वेर आर यू फ्रम ? भन्नेबाट नै गर्छन् कि जस्तो ।
ब्राडको चालामालाले नछोड्ने मनस्थिति बुझेपछि खाइराखेको साइबाब छोडेर उहीतिर फर्केर कुरा गर्न थालँे । ६ फुट ४ इन्च अग्लो उनको हाइटबाट सुरु भयो गफको मेसो । पेसाले प्रहरी सेवामा भएको तीन महिने लामो बिदामा घुम्न निस्केको यायावर रहेछ उ † बेलायत, बाली, मलेसियाबाट बैंकक हुँदै अबको टुंगो नेपालको सगरमाथा बेसक्याम्पतिर † नर्थ फेसको अंजगको व्यागप्याक, कम्मरमा बाँधिएको मल्टी पर्पस बालेट व्याग, हातमा एप्पलको एस फाइभ, केके जाति लेखेको टिसर्ट, अनि थोंग, खुट्टामा त स्लिपरमै यतीका यात्राको मजा लिई भ्याउन लागेछ उसले । छेउको पर्खालको डिलमा अडेस लाएर उभिएको रातो वर्णको त्यो खैरे देखेर मलाई आफूभित्रको खुसीसँग कुस्ती खेल्न मन लाग्यो । एक्लै भए त मन लागे जति गर्नु पर्ने नि मैले † बेन्चको एक कुनोमा अडेस लागेर धुमधुम्ती बसेको देखेर होला मलाई बोलाउन आको । पछि थाहा लाग्यो मलाई थाई भन्ठानेर बोल्न आको रहेछ । मैले जिस्क्याएँ, ‘तिमी कति भाटवाली खोज्न हिँडेको ब्राड ?’ । उसले ओठ तन्कायो ।
‘बिइंग बिथ फ्रेन्डस् ?’ मैले सोधँे ।
‘न्ये’, ब्राडले मुस्कुराएर जवाफ दियो योपटक । दाँतका लहर त अनारका दाना जस्ता । मलाई झट्ट सम्झना आयो कुमार नगरकोटी भा’ भए कसरी लेख्दा हुन् यो यात्रालाई । अनि हरि अधिकारी भए कसरी समीक्षा गर्दा हुन् यो बैंकक बसाइलाई । ह्या मेरो दिमाग पनि किन ओल्डिज तिरका गा’को हो ! वसन्त बस्नेत सम्झिएँ, कसरी लेख्दा हुन् यो ट्राभलग भनेर । शायद, ध्रुवे हात्तीको स्टाइलमा लेख्दा हुन् । बुद्धिसागर भा’ भए अर्को ब्लुज लेख्थे होलान् । नेरु दिमाग भन्ठानेँ, मोटरसाइकल डायरी सम्झ्या भए थोरै भिसाको पैसा तिर्नुपर्‍र्थो र ! त्यो पनि डलरमा !
‘समथिंग गोज ह्याप्पेन रङ बिथ यू, ह्वाइ यू स्माइलिङ सेल्फ’ ब्राड सोध्दै थियो । शायद, उसलाई लाग्यो होला म उसको अंग्रेजी स्पोकन ले हाँसे ।
‘एन्ड यू ह्याव’ प्रश्न मतिर तेर्सियो ।
मैले साथीहरू घुम्न निस्किएका छन् भनी जवाफ फर्काएँ । कुनै–कुनै कुरा म नबुझ्ने कुनै–कुनै कुरा उ नबुझ्ने । यही नबुझाईमा उसले के भन्यो मैले बुझ्दै बुझिनँ । पेटनिर हात पुर्‍याएर एपेटाइट भनेपछि मेरो दिमागले काम गर्न छाडेछ भन्ने बुझेँ । चोरी आँैलोले रेस्टुरेन्टतिर देखाइदिएँ । ‘तिमी बस्दै गर है, म खाएर आउछु’ भनी उ हिँड्यो । म पनि साँझको रमझम हेर्न सडकतिर लागँे ।
०००
केटीहरू फुटपाथको बेन्चमा बसेर ग्राहक कुर्दै रहेछन् । म पनिसँगै बसिदिएँ । सानो ऐना हेर्दै आफ्नो कस्मेटिक लाउँदै गरेकी छेबैको केटी मतिर हेरेर मुस्कुराई । म पनि के कम मोनालिसा स्टाइल दिएँ । निक्कै बेर बसेपछि एउटी वृद्धा हात थाप्दै माग्न आई । त्यो केटीले आफ्नो ब्याग खोतल खातल पारी । म हेरी मात्र रहेँ । मेरो अनुहारतिर अफ्ठेरो मानी मानी हेरेपछि मैले पाइन्टको खल्तीबाट दस भाटको सिक्का हामी दुई जनाको भन्ने संकेतका साथ ती बूढीयाको हातमा राखिदिएँ । बुढियाले थाई भाषामा सरापेझै ठानेँ । मैले चोरी आँैलो कनपटमा लगेर दिमाग छैन यो बुढियाको, भन्ने इसारामा बोलेपछि हामी दुई मजाले हाँस्यौ । पछि तीन जना भारतीय केटाहरूले चार सय भाटमा डिल गरेरसँगै लिएर हिँड्ने बेला मैले उसको अनुहार उज्यालिएको देखेँ । मतिर मुस्कान फँ्याक्ने पालो उसको थियो । शायद ग्राहक पाएको जितका लागि ।
०००
मोबाइलको स्क्रिनमा ६ बजे छ । अझ चार घन्टा बिताउन म सडकबाट काठको भर्‍याङ हुँदै समुद्रतिर ओर्लिएर समुद्र छेउ पुगेपछि थाहा लाग्यो निक्कै फोहर रहेछ । बालुवामा कसैको नाम लेख्दै बसेँ धेरैबेर–नेपालीमा, नेवारीमा, अंग्रेजीमा । चार कोठे घर बनाएँ, सानो छँदा भाँडाकुटी खेल्दै बालुवाको थुप्रोमा खुट्टो घुसारेर बनाउने घरहरू † सिपीहरू बटुलेर डिजाइन गरँे त्यस घरमा । आफू एक्लोको मात्र घर कहाँ हुनु नि † हुनुपर्ने अर्को नभा’को नि घर हुन्छ कहीँ ? पानीको छाल कुरेर बसेँ, कहिले भत्काउला मेरो घर † पछाडिबाट कसैले मेरो नाममा आवाज दिएझँै लाग्यो । फर्केको त उही ब्राड रहेछ । बालुवाको घरलाई त्यहीँ छाडेर सडकतिर उक्लिन हिँडेको मात्र के थिएँ, ब्राड नै पहिले मछेउ आइपुग्यो । कता बेपत्ता नि ? प्रश्न तेर्सायो । मैले बाटो छेउको घटना सुनाएपछि, कसो तिमीलाई पनि घिसारेर लगेन भनी जिस्कायो ।
‘लगेको भए ‘ब्राड’ भनेर चिच्याउँथे ।’
मेरो जवाफ सुनेर उ सामान्य भावसहित, ‘म पुलिसको जागिरबाट तीन महिने छुट्टीमा छु केटी’ भन्दै पुन : पूरै दाँत देखिने गरी हाँस्यो । योपटक शायद मैले गलत आशा गरेछु भन्ने लाग्यो ।
मेरो फोटो खिची माग्नका लागि क्यामरा उतिर बढाएँ ।
‘संसारको यो आठौँ आश्चर्य हुनेछ । बीचमा पूरा कपडा लाएर फोटो खिच्ने ।’ ब्राडले भनी भ्याउँदा म यती जोडले हाँसेछु, तस्विर धेरैपटक खिच्नु पर्‍यो । त्यो पलको सम्झना तस्विर बनेर रहेको छ । ब्राडसँग सडक उक्लँदा, बालुवाको घर पानीको लहरले लग्यो कि लगेन फर्केर हेर्न भुलेछु, यो पनि अर्को मानवीय स्वभाव †
०००
मोबाइलको अर्लाम बज्न थालेपछि बसस्टप फर्कन ओपन ट्याक्सी खोज्न थालँे । ब्राडले ‘म छोडिदिन्छु तिमीलाई’ भनि हिँडायो । भर्खर सहरमा फोरप्ले सुरु हुँदै थियो । ‘तिमी आज यतै बसे हुन्न ?’ भन्न थालेपछि मैले ‘साथीहरू बसस्टपमा मलाई फर्कन कुर्छन्’ भनेर जिद्दी कसेँ । फेरि जीवनमा पटाया सहर भेटे पनि म भेट्दैनौँ नि † उसको आशय थियो । फेरि नभेटिने मान्छेसँग यती भेट नै पर्याप्त छ भन्ठानेँ । फर्कनु नै छ भने किन दु:ख बोकेर फर्कने ? एक अर्कामा आलोचित भएर फर्कने भन्ने लाग्यो । मेरो पासपोर्ट मागेपछि फेरि एकपटक झस्किएँ । तै के का लागि होला ? भन्ने आशय मेरो आँखामा देख्यो क्यार ! एकथोक हेर्नु छ भनेपछि दिएँ, उसलाई म थाई होइन भनी कन्र्फम गर्नु रहेछ । हामी दुवै एकै दिनका रहेछाँै । ब्राडले भन्दा मैले नपत्याएको भावमा ओठ लेप्राएँ । अबको पालो उसको । पार्सपोर्ट हेर्दा म नि छक्क परँे । संयोग नि कस्तो † बसस्टपको बेन्चमा निक्कैबेर चुपचाप चुपचाप बस्यौँ । साथीहरू आइपुगेपछि बिदाइको हात हल्लाएर उ हिँड्यो । हिन्दी सिनेमा हुँदो हो त ब्याकग्राउन्डमा हेभी सेन्टिमेन्ट्स गीत बज्थ्यो होला– जो तेनु बेक्हिया साँसे गई थम, सारी सारी रात सोए ना हम …..।
०००
बस चढिसकेपछि स्विडिस साथीले जिस्काउन थाली, ‘तैले त्यसलाई कसरी भेटिस् ?, माथि भेट्दा तल नभेटिने तल भेटाउँदा माथि नभेटिने मान्छे ।’ आशय बुझे पनि जवाफ फर्काउन ठीक मानिन । निकैबेर साथी नबोलेको देखेपछि जिस्काउने पालो मेरो थियो । ‘हि इज सिक्स फोर । तैले चाहिँ पैतिस सय भाटसँग के गरिस् नि !’
‘होटलको रूममा पुगौँ, म गरेरै देखाउँला’, अश्लिल आसयमा भनी । म भने बसको झ्यालबाट बाहिर हेरिरहँे । बसले अझ पटाया सहर छाडेको थिएन । सडक पेटीमा हिँडिरहेको मान्छेहरू हेर्देथिएँ ।
‘तेरो आँखाले अझै त्यही सिक्स फोर खोज्दै छ ।’ स्विडिस साथीले भनी । मैले झिझो माने झै गरेर नबोली टारँे । साथीलाई लागेछ म ब्राडसँगको ट्रेजेडीमा छु । मेरो चिउँडो आफूतिर फर्काएर ठूलो–ठूलो स्वरमा ‘मिस्टर लोन्ली मिस्टर लोन्ली’ भन्दै एकोनको गीत लेघ्रो तान्न थाली ।
मेरो आँखामा उसले के पढी कुन्नि † उ पनि बोलिन धेरैबेरसम्म ।
अत्यास लागेछ क्यार, उसले एकै स्वासमा भनी भ्याई, ‘त्यसको देब्रे खुट्टाको पिडौलमा याद गरिस् ? तिमेरूको बुद्ध भगवानको ट्याटु थियो ।’
तै पनि बोलिनँ ।
गुडिरहेको बसको झ्यालबाट हेर्दा बाटो छेउको रेस्टुरेन्टको कालो सिसामा रातो चमकदार स–साना गुलुपहरूले लेखिएको थियो, ‘पटाया नेभर स्लिप्स् ।’

प्रतिक्रिया