पाँचथर कारागार झडपमा दुई कैदी घाइते

पाँचथर : पाँचथर जिल्ला कारागारमा शुक्रबार बिहान चौकीदर पक्ष र कैदीपक्षबीच झडप हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा ३५ वर्षीय सुवास थोक्लिहाङ र रवीन राई घाइते भएका छन् । टाउकोमा चोट लागेका थोक्लिहाङ र हातमा चोट लागेका राईको जिल्ला अस्पताल पाँचथरमा उपचार गरिएको छ । चौकीदार कमल तामाङले कैदीहरूबाट रकम असुल्ने र मनोमानी ढंगले प्रशासन चलाएको नाइके सुवास थोक्लिहाङले बताए । चौकीदार पक्षले भने केही कैदीहरू मिलेर आफूमाथि आक्रमण भएको बताए । थोक्लिहाङ जबरजस्ती करणी र राई कर्तव्य ज्यान मुद्दाका कैदी हुन् ।
झडपपछि इलाम घर भएका छ जना कैदीलाई हिरासतमा लिई इलाम कारागारमा स्थानान्तरणको तयारी गरिएको निमित्त जेलर खगेन्द्र बर्देवाले बताए । स्थानान्तरण हुनेमा चौकीदार इलाम–२ का ४५ वर्षीय कमल तामाङ, गोर्खे– १ का २६ वर्षीय सन्तोष सुबेदी, नाइके फिक्कल–६ का ४२ वर्षीय मोहन घिसिङ र घाइते रवीन रहेका छन् । उनीहरू कर्तव्य ज्यान मुद्दाका कैदी हुन् । यसैगरी जबर्जस्ती करणी मुद्दाका इलाम–५ का २४ वर्षीय विरेन भनिने विकास राई र सहनाइके गोर्खे–१ का २४ वर्षीय सनिल तामाङसमेत स्थानान्तरण हुने भएका छन् ।
झडप सुरु हुनेबितिकै प्रहरी परिचालन गरिएकाले घटनाले ठूलो रूप लिन नपाएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सञ्जीव बाबु खड्काले बताए । उनीहरूलाई शनिबार इलाम कारागारमा पुर्‍याइनेसमेत उनले बताए ।

प्रतिक्रिया