उपक्षेत्रीय अस्पताल सञ्चालन हुने प्रक्रियामा

डडेल्धुरा, २५ जेठ । सुदूरपश्चिमको पहाडी जिल्लाको प्रवेशद्वार डडेल्धुरा सदरमुकाममा रहेको टिम अस्पतालमा १ असारदेखि उपक्षेत्रीय अस्पताल सञ्चालन हुनेभएको छ । यसका लागि निर्माणकार्य पनि तीव्र रूपमा सञ्चालन भइरहेको छ । अस्पतालमा रहेका अपरेसन कक्ष, प्रसूतिगृहजस्ता महत्त्वपूर्ण कक्षको पुनर्निर्माण कार्य अहिले भइरहेको छ ।

एच डिसिएस संस्थाले टिम अस्पताललाई सञ्चालन गर्दै आएको भए पनि राम्रो सेवा सुविधा दिन नसकेको भन्दै डडेल्धुराका राजनीतिक दल, नागरिक समाज र डडेल्धुरावासीले पटकपटक आन्दोलन गरेपछि नेपाल सरकारले २३ वैशाखमा टिम अस्पताललाई उपक्षेत्रीय अस्पताल बनाउने निर्णय गरेको थियो ।
एचडिसिएस संस्थाले बेइमानी गरेको र बरबुझारत कार्यमा ढिलाइ भएकाले उपक्षेत्रीयको कामकाज केही समय प्रभावित भएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष पदमराज जोशीले बताए । उनले भने, ‘असार महिनादेखि उपक्षेत्रीय अस्पतालले सेवा दिन्छ एक जना एमडिजिपी डाक्टर जिल्लामा आइसकेको र अन्य डाक्टर वीर अस्पतालबाट तत्कालका लागि काजमा बोलाउने प्रक्रिया अगाडि बढेको छ ।
सेवा दिँदै आएको संस्था एचडिसिएसले भने राजनीतिकदलले गर्दा सेवा दिन असहज भएको भन्दै १२ वैशाखदेखि अस्पताल पूर्णरूपमा बन्द गरेको थियो । अस्पताल पूर्णरूपमा बन्द भएपछि सुपका बिरामीलाई उपचारमा समस्या भइरहेको छ । अस्पताल बन्द भएपछि बाहिरी जिल्लाबाट आउने बिरामीलाई आर्थिक संकलन गरी दैनिक रिफर गर्नु डडेल्धुरा तुफानडाँडाका व्यापारीको दिनचर्या जस्तै भएको छ ।
बिरामी उपचारका लागि आउँछन्, अस्पताल बन्द अवस्थामा रहेको छ । उनीहरूसँग धनगढी, नेपालगन्ज लैजाने पैसा नहुँदा व्यापारी मिलि पैसा उठाएर पठाउँछौँ युवा समाजसेवी रवीन्द्र केसीले बताए ।
नेपाल सरकारले वैकल्पिक व्यवस्था नगरी उपक्षेत्रीय अस्पतालको घोषणा गरी टिमको सेवालाई बन्द गराउनु ठीक नभएको मानवअधिकार एलायन्स जिल्ला अध्यक्ष नवीन साहुले बताए । उपक्षेत्रीय अस्पताल सञ्चालनको नाममा राजनीतिक दलहरूले आर्थिक चलखेल गर्न खोजेको र उपक्षेत्रीय निर्माणका लागि आएको पैसामा राजनीतिक भागबन्डाको दुर्गन्ध आउन थालेको उनले बताए ।
नेपाल सरकारले उपक्षेत्रीय अस्पताल सञ्चालन गर्ने भने पनि सेवासुविधा कस्तो दिने भन्ने कुरामा भने आशका उत्पन्न हुन थालेका छन् । राम्रो व्यवस्थापन हुन नसके जिल्ला अस्पताल र अञ्चल अस्पतालकै जस्तो उपक्षेत्रीयको पनि दुर्गति हुने एमाले पूर्वजिल्ला सचिव यज्ञराज अवस्थीले बताए । उपक्षेत्रीय अस्पताल सुचारु हुन भनेको सुदूरपश्चिमवासीका लागि गर्भको कुरा भएको भए पनि यसले दिने सेवासुविधा कस्तो हुने भन्ने कुरामा द्विविधा रहेको छ ।

प्रतिक्रिया