‘चन्दा’ मागिएको हो/जायज छ : नेविसंघ

काठमाडौं, २४ जेठ । कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले विभिन्न संघ/संस्थाहरुसँग स्वयच्छिक चन्दा माग गरेको स्वीकारेको छ ।
नेविसंघका मुख्य सचिव शिव रिमालले आज (शुक्रबार) विज्ञप्ति जारी गरेर स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि निर्वाचन माग गरिएको जनाएका हुन् । उनले स्वयच्छिक चन्दालाई जायज भएको दाबी गरेका छन् ।
अध्यक्ष रञ्जीत कर्णले व्यक्तिगत रुपमै विभिन्न संघ/संस्थासँग संगठनको लेटरप्याड प्रयोग गरेर चन्दा माग्ने गरेको भन्दै विरोध सुरु भए पछि नेविसंघले त्यसको बचाउँ गरेको हो ।
‘अध्यक्ष एवं केन्द्रीय समितिका नाममा सञ्चारमाध्यममा आर्थिक अनियमितताका विषयमा नियोजित रुपमा प्रसारित प्रचारित समाचारप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
‘स्ववियु निर्वाचनका सन्र्दभमा संस्थागत रुपमा केही संघ/संस्थाहरुमा स्वयच्छिक चन्दाका लागि आग्रह गरिएको कुरा सत्य हो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर केही व्यक्तिद्वारा संगठनको लेटर प्याड र किर्ते हस्ताक्षर प्रयोग गरी संगठनलाई नियोजित रुपमा वद्नाम गराउने गलत उद्देश्य राखेको पाईएको छ ।’
आर्थिक संकलनमा अध्यक्ष कर्णको नामजोडी संगठनको वद्नाम गराउनेहरुको यर्थाथ छानविन गर्नका लागि छानविन समिति गठन गरिएको पनि विज्ञप्तिमा जनाईएको छ ।
चन्दा संकलनका विषयमा एकहप्ता भित्र सत्यतथ्य विवरण सार्वजानिक गरिने नेविसंघले उल्लेख गरेको छ ।

प्रतिक्रिया