अवैध गिट्टी निकासी जारी

कैलाली : कैलालीस्थित त्रिनगर भन्सार नाकाबाट अवैध रूपमा गिट्टी र प्रशोधित धुलो (बालुवा) निकासी हुने क्रम अझै रोकिएको छैन । गिट्टी निकासी हुने क्रम नरोकिएपछि कैलालीमा गिट्टीको ठूलो अभाव सिर्जना भएको छ ।
दिन–प्रतिदिन अवैध रूपमा गिट्टी र प्रशोधित धुलो निकासी हुन थालेपछि कैलालीमा करिब डेढ महिनादेखि गिट्टी अभाव भइरहेको छ । गिट्टी निकासीमा जिल्ला विकास समितिको एकलौटि निर्णयले गिट्टी भारत निकासी हुँदा यहाँका निर्माण व्यवसायी मारमा परेका छन् । विकास निर्माण तथा अन्य भौतिक संरचना निर्माण बढी हुने समयमा जिल्लामा गिट्टी अभाव हुन थालेपछि निर्माणका कामहरू समेत प्रभावित भएका छन् ।
स्थानीय प्रशासनले भारत निकासी भइरहेको गिट्टी रोक्न कुनै चासो नदेखाए आफूहरूले समयमै योजना सम्पन्न गर्न नसक्ने निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष किशोर ठकुराठी बताउँछन् । गिट्टीका लागि प्रत्येक दिन क्रसर उद्योग धाउँदासमेत नपाइने गरेको उनले बताए ।
गिट्टी अभाव भइरहेकाले भारत निकासी रोक्नुपर्ने भन्दै आफूहरूले प्रमुख जिल्ला अधिकारीलाई धेरै पटकभन्दा समेत कुनै चासो नदेखाएको अध्यक्ष ठकुराठीले जानकारी दिए । कति परिमाणमा गिट्टी निकासी भइरहेको छ भन्ने हेर्न अनुगमन समिति गठन भए पनि आर्थिक चलखेलका कारण अनुगमन नै नहुने गरेको निर्माण व्यवसायीको आरोप छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत लम्कीमा सडक मर्मतको ठेक्का पाएका गोविन्दराज भट्टले पनि गिट्टी नपाएर काम रोकिएको जानकारी दिनुभयो । तीन सय मिटर सडक मर्मत गर्नुपर्ने भए पनि गिट्टी नपाउँदा काम हुन नसकेको उनको भनाइ छ । गिट्टी भारत निकासी गर्दा बढी फाइदा हुने भएकाले केहीले यहाँ अभाव देखाएर गिट्टी भारत निकासी गरिरहेको स्थानीय उपभोक्ताको आरोप छ ।
जिल्लामा २० एमएमको गिट्टी आवश्यक पर्ने भए पनि यहाँका क्रसर उद्योगहरू ४० एमएमको गिट्टी उत्पादन गरेर भारत निकासी गर्ने गरेको अध्यक्ष ठकुराठीले बताउनुभयो । जिल्ला विकास समिति कैलालीले भारत निकासीका लागि दिएको सिफारिसको परिमाणभन्दा बढी मात्रामा गिट्टी र प्रशोधित धुलो निकासी भएको स्रोतले जनाएको छ । गिट्टी र प्रशोधित बालुवा निकासी मिलोमतोमा हुँदै आएको बताइएको छ ।
जिल्ला विकास समिति कैलालीका आलेप अधिकृत योगेन्द्रबहादुर चन्दले जिल्लाका दुईवटा क्रसर उद्योगलाई १५/१५ हजार घनमिटर गिट्टी निकासीको अनुमति दिएको बताए । ढुंगा, बालुवा, गिट्टी व्यवस्थापन समन्वय समितिको बैठकले ९ असार ०७० देखि ०७१ असार मसान्तसम्मका लागि सो परिमाणमा गिट्टी निकासीको अनुमति दिएको जिविसले जनाएको छ । राष्ट्रिय उपभोक्ता मञ्च कैलालीका अध्यक्ष हरि रेग्मीले पनि जिल्लामा गिट्टी अभाव भइरहेकाले गिट्टी निकासी बन्द गर्नुपर्ने बताए । स्थानीय स्तरमा गिट्टीको माग पूर्ति गरेर मात्र भारत निकासी गर्ने पर्ने उनको भनाइ छ ।
जिल्ला विकास समिति कैलालीका स्थानीय विकास अधिकारी केदारबहादुर बोगटीले जिल्लामा अभाव हुने गरी गिट्टी निकासी नभइरहेको दाबी गरे ।

प्रतिक्रिया