त्रिशूलीमा विवाद नगर

नेपाली जनताले वर्षौंदेखि अन्धकारमा बस्नुपरेको छ । आफ्नो देश जलस्रोतमा सम्पन्न हुँदाहँदै पनि लोडसेडिङको मार भोगिरहनुपरेको पीडा बडो नमीठो हुन्छ । अहिले नेपालीले त्यही नमीठो पीडा अनुभव गरी रहेका छन् । जनताको चाहना छ, छिटोभन्दा छिटो लोडसेडिङ हटोस् र उज्यालोमा बस्न पाइयोस् । तर, राजनीतिज्ञहरूको अदूरदर्शीता, अकर्मण्यता र शंकालु प्रवृत्तिले गर्दा कुनै पनि जलविद्युत् आयोजना पूरा हुने अवस्थामा छैनन् । अहिले त्रिशूली–३ ‘ए’ जलविद्यत् आयोजना ६० मेगावाटबाट ९० मेगावाट पुर्‍याउने निर्णय गरिँदा कतिपयले विवाद झिकेको अवस्था छ । वास्तवमा यो विवादको विषय नबन्नुपर्ने थियो । विगत साक्षी छ, अरुण तेस्रो विवादको चर्को भुमरीमा परेर रद्द भएपछि नेपालले ठूलो घाटा बेहोर्नुपर्‍यो । अन्धकारमा बस्नुपर्‍यो र अहिले त्यही आयोजना डबल खर्चमा पनि नबन्ने भयो । त्रिशूली– ३ ‘ए’ लाई पनि त्यही नियति भोगाउन खोजिँदै छ । यदि, यस त्रिशूलीलाई पनि अरुण तेस्रो बनाइयो भने त्यसले गम्भीर असर पुर्‍याउने छ भने परिणाम पनि नराम्रो हुने छ । जहाँ र जुनसुकै विषयमा विवाद हितकर हुँदैन । त्यसताका अरुणको विरोध गर्ने एमाले अहिले पश्चाताप गर्दै छ । कतै त्रिशूलीलाई पनि पछि पश्चाताप गर्ने विषय त बनाइँदै छैन ? प्रशस्त शंका गर्ने ठाउँ देखिँदै छन् । यसतर्फ सबै सचेत हुन जरुरी छ ।
समयले कसैलाई पर्खिदैन । अब पश्चाताप गरेर अरुण तेस्रो त्यही लागतमा सजिलै बन्दैन । दाताहरू जलस्रोतमा लागनी गर्न अरुण काण्डदेखि नै तर्सिएका छन् । यो कुरा नेता र सम्बन्धित पक्षले मनन गर्न सक्नुपर्छ । किन हामी जलविद्यत् आयोजनाहरूप्रति नकारात्मक सोच राख्छौँ ? किन हामी सकारात्मक बन्न सकिरहेका छैनौँ ? के यही कारणले हामी जलविद्यत् आयोजना निर्माणमा पछि परेका त होइनौँ ? यस विषयमा पनि अब सोच्ने र मूल्यांकन गर्ने बेला भएको छ । त्रिशूलीको विरोधी गर्नु भनेको अन्धार रुचाउनु हो भनेर नेपाली जनताले बुझ्नुपर्ने अवस्था आउनुहँुदैन । बरु के कसरी आयोजनाहरू छिटो सम्पन्न गर्न सकिन्छ र धेरै विद्युत् उत्पादन गर्न सकिन्छ त्यसतर्फ सोच्न जरुरी छ । सस्तो बिजुली जनताको घरमा छिट्टै पुग्छ भने त्यस्ता आयोजनाहरूलाई आत्मैदेखि सहयोग र समर्थन गर्नुपर्छ । रकम थपेपछि ३० मेगावाट विद्युत् बढ्ने र सस्तो पनि पर्ने हो भने त्रिशूली विरोधले नोक्सानबाहेक नाफा हँुदैन । तसर्थ, राष्ट्र र जनतालाई घाटा हुने विरोध रोकिनुपर्छ ।
त्रिशूली–३ ‘ए’ को क्षमता वृद्धि गर्न मन्त्रिपरिषद्ले गत पुसमा नै सैद्धान्तिक सहमति दिएको थियो । त्यही सहमतिका आधारमा अहिले निर्णय भएर काम अघि बढाउने तर्खरमा सम्बन्धित निकाय लागेको बुझिन्छ । तर, कतिपयले विभिन्न पक्ष र कोणबाट यसको विरोध गरेको हुँदा उद्देश्य भने बुझ्न सकिएको छैन । यो दुलोभित्रको निहित उद्देश्य बुझ्न नसके पनि आयोजनालाई प्रभाव पार्न खोजेको भने बुझ्न सकिन्छ । जलविद्यत् आयोजनाको अब विरोध होइन समर्थन गर्नुपर्छ । यसले मात्र नेपाली जनतालाई अन्धारमा बस्नुपर्ने बाध्यताबाट मुक्त गर्नेछ । नेपालमा जलमाफियाहरूको जालो छिचोली नसक्ने गरी फैलिएको छ । यो जालो नचिर्ने हो भने झोलामा खोला बोकेर मुनाफा आर्जन गर्नेहरूले अनन्त कालसम्म अन्धकार हट्न दिने छैनन् । राजनीतिज्ञ, बुद्धिजीवी र सम्बन्धित पक्षले यो कुरा बुझ्नै पर्छ । अहिले विवाद होइन नेपाली जनतालाई अन्धकारबाट मुक्त हुने अस्त्र चाहिएको छ । तसर्थ, त्रिशूली–३ ‘ए’ लाई विरोध नगराँै, बेलैमा सम्पन्न हुन दिएर नेपाललाई लोडसेडिङ मुक्त बनाउने दिशातर्फ अग्रसर हौँ । यसैले राष्ट्र र जनताको भलो गर्छ । सबैले यस विषयतर्फ गम्भीरतापूर्वक सोचौँ ।

प्रतिक्रिया