सरकारी भवनमै गुणस्तरहीन इँटा

Surkhet-sourya-dailyसुर्खेत, २४ जेठ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सुर्खेतका प्रमुख तपेन्द्रबहादुर खड्का र जिएम कस्ट्रक्सन प्रालिको मिलेमतोमा सरकारी कार्यालयको भवन निर्माणमै गुणस्तरहीन इँटा प्रयोग गरेको पाइएको छ ।

वीरेन्द्रनगरमा निर्माणाधिन भूकम्प मापन केन्द्र, वायर हाउस(गोदाम घर) र कटकुवा स्वास्थ्य चौकीको भवनमा खड्का र ठेकेदारको मिलेमतोमा कमसल इँटा प्रयोग गरेको पाइएको हो । ल्याब परीक्षणविना नै भवन निर्माणमा इँटा प्रयोग गर्न दिनुले डिभिजन कार्यालय प्रमुखको पनि मिलेमतो भएको पुष्टि भएको छ ।
कुनै पनि सरकारी कार्यालयको भवन निर्माण गर्दा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले ल्याबबाट इँटाको गुणस्तर परीक्षण गरेर मात्रै निर्माणका लागि अनुमति दिनुपर्छ । तर, वीरेन्द्रनगरमा निर्माणाधिन तीनवटै भवनमा प्रयोग गरिएको इँटा ल्याब परीक्षण नै नगरी निर्माणमा प्रयोग गरिएको हो ।
ठेक्का सम्झौताअनुसार एक नम्बर इँटा प्रयोग गर्नुपर्नेमा तीन नम्बर इँटा प्रयोग गरी भवन निर्माण भइरहेको छ । नियमन गर्ने निकाय सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय भने मौन बसेको छ । तीन वटै भवन निर्माणको जिम्मा जिएम कस्ट्रक्सन प्रालिले लिएको छ । भवनमा प्रयोग भएका इँटा गंगा इँटा उद्योग नेपालगन्जबाट ल्याइएको हो ।
तीन नम्बर इँटा प्रयोग गर्नुले भवन निर्माणमा ठूलै आर्थिक चलखेल भएको स्रोतको दाबी छ । नेपालगन्जमा एक नम्बर इँटाको मूल्य प्रति गोटा १० रुपियाँ ५० पैसा पर्दछ भने तीन नम्बर इँटा प्रति गोटा तीन रुपियाँ मात्रै पर्दछ । ‘कार्यालय प्रमुख र ठेकेदारले मिलेर प्रति इँटाबाट सात रुपियाँ ५० पैसा घोटाला गरेका छन्’, स्रोतले भन्यो ।
डिभिजन कार्यालय प्रमुख खड्काले ठेकेदार कम्पनीको विश्वासका कारण इँटा परीक्षण नगरिएको बताए । ‘यसअघि डिभिजन सडक कार्यालय सुर्खेतमा परीक्षण गराएरै प्रयोगका लागि अनुमति दिने गरेका थियाँै’ खड्काले सौर्यसँग भने, ‘यसपटक मात्रै परीक्षण नगरिएको हो । परीक्षणका लागि साइट इन्जिनियरलाई निर्देशन दिइसकेको छु ।’ खड्काले सुर्खेतमा इँटा परीक्षण गर्ने गरेको भनेर समेत झुट बोलेका छन् । जबकी डिभिजन सडक कार्यालय सुर्खेतमा इँटा परीक्षण प्रविधि नै छैन । डिभिजन सडकका प्रमुख भानु जोशीले इँटा परीक्षण प्रविधि आफ्नो कार्यालयमा नभएको र परीक्षणका लागि काठमाडौं नै लैजानुपर्ने जानकारी दिए ।
प्रविधि नै नभएको डिभिजन सडक कार्यालय सुर्खेतमा इँटा परीक्षण गरिएको झुट बोलेर खड्काले गल्ती ढाकछोप गर्न खोजे । कार्यालयका साइट इन्जिनियर शशिन्द्र घिमिरेले पनि भवन निर्माणमा प्रयोग भइरहेको इँटा गुणस्तरहीन नै भएको बताए । निर्माण कम्पनीलाई दुई नम्बरको इँटा प्रयोग नगर्न मौखिक आदेश गरेको तर पुन: त्यस्तो देखिएकाले त्यसलाई तत्काल हटाउन लगाइने इन्जिनियर घिमिरेले बताए । ठेकेदारले एउटै कम्पनीको इँटा प्रयोग गर्ने जनाएपछि पटक–पटक ल्याब टेस्ट नगरिएको उनको भनाइ छ । पटकपटक गुणस्तर नभएको इँटा प्रयोग भएको पाइएमा ल्याब टेस्ट गरिने इन्जिनियर घिमिरेले बताए ।
भवन निर्माणको प्राविधिक रेखदेख गर्ने ठेकेदार प्रतिनिधि केएन मिश्रले गंगा इँटा उद्योग नेपालगन्जबाट ल्याएको गुणस्तरीय इँटा प्रयोग गरेको दाबी गरे । उनले गुणस्तरीय इँटामा केही प्रतिशत कमसल परेको हुन सक्ने स्वीकार गरे । वायर हाउस भवन जिल्ला प्रशासन कार्यालयबाट भुक्तानी हुने भए पनि भवनमा गुणस्तरहीन इँटा प्रयोग भइरहेको बारे प्रशासनले अनुगमनसमेत गरेको छैन ।
खानी विभागबाट भुक्तानी हुने भुकम्प मापन केन्द्रको भवन गत चैतमा पूरा गर्ने समयभए पनि पहिलोपटक आगामी आसोजसम्म म्याद थप गरिएका इन्जिनियर घिमिरेले बताए । उनले २२ प्रतिशत कम दरमा ठेक्का सम्झौता गरेको जिएम कस्ट्रक्सनले एक करोड दुई लाखमा १६ कोठाको तीन तले भवन निर्माण गर्न लागेको जानकारी दिए । आगामी असोज महिनामा सम्पन्न गर्ने गरी ३२ प्रतिशत कम दरमा वायर हाउस निर्माण गर्न दुई करोड ९८ लाख रुपियाँमा जिएम कस्ट्रक्सनले सम्झौता गरेको इन्जिनियर घिमिरेले बताए ।

प्रतिक्रिया