जाजरकोट तीन महिनादेखि डाक्टरविहीन

जाजरकोट, २४ जेठ । १५ शय्याको जाजरकोट जिल्ला अस्पताल तीन महिनादेखि डाक्टरविहीन भएपछि स्थानीय नागरिक अगुवाले अस्पतालमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

एक जना जनस्वास्थ्य अधिकृतसहित पाँच जना डाक्टरको दरबन्दी रहेको जाजरकोट डाक्टरविहीन भए पनि सरकारले बेवास्ता गरेपछि बिहीबारदेखि तालाबन्दी गर्नुपरेको नागरिक सरोकार समितिका सदस्य छवि पन्तले जानकारी दिए । अस्पतालको प्रशासनिक गेट, कार्यालय प्रमुखको कार्यकक्ष र लेखा फाँटमा ताला लगाइएको छ । आफ्ना माग पूरा नभएसम्म ताला नखोलिने सरोकार समितिले जनाएको छ ।
समितिले बिहीबारै स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई जिल्ला प्रशासन कार्यालयमार्फत पाँचबुँदे मागसहितको ज्ञापनपत्र पठाएको छ । ज्ञापनपत्रमा मेडिकल सुपरिटेन्डेन्टसहित पाँचै डाक्टरको तत्काल पदपूर्ति हुुनुपर्ने, जिल्ला अस्पतालमा अप्रेसन थिएटरको व्यवस्था हुनुपर्ने, टेलिमेडिसिन, भिडियो एक्सरे, एक्सरे, इसिजीलगायत सेवा तत्काल सुचारु हुनुपर्ने, जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा खाली दरबन्दी तत्काल पदपूर्ति गरिनुपर्ने र जिल्लाबाहिर काजमा रहेका स्वास्थ्यकर्मीको तत्काल काज फिर्ता गर्नुेपर्ने माग समेटिएको छ ।
लामो समयदेखि डाक्टरविहीन जाजरकोटमा केही समयअघि एक मात्र डाक्टर थिए विवेककुमार लाल । उनको पनि सरुवा भएपछि जाजरकोट तीन महिनादेखि डाक्टरविहीन बनेको हो ।
जिल्लामा शवको पोस्टमार्टम गर्नका लागि समेत समस्या छ । गत साता सुर्खेतबाट जाजरकोट हिँडेका कोर्ताङ–४, मेसुका २० वर्षीय नरेश बस्नेत मृत भेटिएपछि उनको जिल्लामा पोस्टमार्टम हुन नसकेपछि शव दैलेख लगिएको थियो ।
अस्पतालमा बिरामीको रोग पहिचानका लागि आवश्यक पर्ने एक्सरे, इसिजी, नेगुलाइजर, एनालाइजर, एलएफ्टी, इको, इसिजी, ल्याब सेवा, भिडियो एक्सरेलगायत अत्यावश्यक उपकरण विद्युत् र जनशक्ति अभावमा प्रयोगविहीन छन् । अस्पतालमा भएको २० वर्ष पुरानो एक्सरे मेसिन रेडियोग्राफरको अभावमा कार्यालय सहयोगीले चलाउँदै आएका छन् । उक्त एक्सरे मेसिन एक सय एमएमको मात्र भएको र कम्तीमा तीन सय एमएमको एक्सरे मेसिन चाहिने सिअहेव वेदबहादुर सिंहले जानकारी दिए । विशेषज्ञ सेवा पुर्‍याउने उद्देश्यले तीन वर्षअघि स्थापना गरिएको टेलिमेडिसिन सेवा पनि अलपत्र छ । चट्याङले टेलिमेडिसिन र अन्य विद्युतीय उपकरण जलेर नष्ट भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । सामान्य रोगको समेत पहिचान हुन नसक्दा जिल्लावासी हजारौँ खर्चेर नेपालगन्ज, काठमाडौं, भारतको लखनउलगायत सहरमा उपचारका लागि जान बाध्य छन् ।
दक्ष डाक्टर माग गर्दै ज्ञापन
बर्दिया : बर्दियाका महिला अधिकारकर्मीले दरबन्दीअनुसारको दक्ष डाक्टर माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र पठाएका छन् ।
स्वास्थ्य मन्त्रालय तथा विभागले बर्दियामा डाक्टर पठाउन चासो नदिएको भन्दै उनीहरूले बिहीबार सरकारलाई ज्ञापन पठाएका हुन् । चार दिनसम्म जिल्ला स्वास्थ्य कार्यालय बर्दियामा तालाबन्दी गरेका उनीहरूले पाँच सूत्रीय माग राखेका छन. । ज्ञापनपत्रमा बर्दिया जिल्ला अस्पतालमा दरबन्दीअनुसारका डाक्टरको तत्काल व्यवस्था हुनुपर्ने, लैंगिक संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला अस्पतालमा कम्तीमा एक जना महिला डाक्टरको व्यवस्था गरिनुपर्नेलगायत माग छन् । ज्ञापनपत्र बुझाउादै अन्तरपार्टी महिला सञ्जाल बर्दियाकी अध्यक्ष राधा शर्माले डाक्टरको व्यवस्था नहुन्जेलसम्म दबाब कार्यक्रम जारी रहने बताइन् ।
ज्ञापनपत्र बुझ्दै बर्दियाका सिडिओ मानबहादुर विकले जिल्लामा दक्ष डाक्टरका लागि मन्त्रालय र विभागसँग पत्राचार गरिएको जानकारी दिएका थिए ।

प्रतिक्रिया