तानसेनलाई प्लास्टिकमुक्त बनाइने

पाल्पा : तानसेन नगरपालिकालाई प्लास्टिक झोलामुक्त बनाइने भएको छ ।
नगरपालिकाले डेढ वर्षअघि दुई करोड ५० लाख रुपियाँ खर्चेर निर्माण गरेको डम्पिङ साइट प्रयोगमा ल्याएको चार महिनामै भरिन लागेपछि प्लास्टिकमुक्त नगर बनाउन प्रयास गरेको हो । विश्व वातावरण दिवसका दिनदेखि तानसेनलाई प्लास्टिकमुक्त सहर बनाउने योजना अघि सारिएको नगरपालिकाले जनाएको छ । तानसेनलाई प्लास्टिकमुक्त सहर बनाउन माइकिङ् गर्ने, जनतालाई सचेत बनाउने, अनुगमन गर्ने, जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिने भएको छ । जसका लागि उद्योगी, व्यापारी, व्यवसायी, नगरमा गठित टोल विकास संस्थाले सहयोग पुर्‍याउने प्रतिवद्धता जनाएका छन् ।
प्लास्टिक झोलाको विकल्पमा जुट/कागज/कपडाको झोला प्रयोग गर्न नगरपालिकाले आग्रह गरेको छ । (सौस)

प्रतिक्रिया