सीमा मिचेर मन्दिर ठड्याउँदै भारतीय पक्ष

Madi-Mandirचितवन, २२ जेठ । चितवनको माडी बघौडा–९ मा पर्ने सीमा क्षेत्र सोमेश्वर डाँडामा भारतले जग्गा अतिक्रमण गरेको छ । उक्त क्षेत्रमा नेपाली पक्षबाट निर्मित मन्दिर भत्काएर भारतीय पक्षले आºनो मन्दिर बनाउने कामलाई तीव्रता दिएको छ ।

भारतीय पक्षले आºनो सीमा सुरक्षा बल एसएसबीको सहयोगमा नेपाली भूमिमा पर्ने पुरातात्विक महत्त्वको सोमेश्वर डाँडामा जग्गा मिचेर मन्दिर बनाउन लागेको स्थानीयवासी बताउँछन् । भारतीय पक्षले उक्त क्षेत्रमा रहेको पुरानो शिव मन्दिर भत्काएर नयाँ मन्दिर बनाउन थालेको स्थानीय ग्रामीण सञ्चार सञ्जाल माडीका अध्यक्ष सूर्य पाठकले जानकारी दिए । मन्दिर निर्माणका लागि एसएसबीले विभिन्न सामग्री लगेर नेपाली भूमिमा राखे पनि यहाँको सीमा सुरक्षा बलको नजर भने पुग्न सकेको छैन । सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल भने सदरमुकाम भरतपुरको आँपटारीमै सीमित छन् । स्थानीयवासी सीमा सुरक्षा बल आँपटारीमा होइन, सीमा आसपासमै रहनुपर्ने बताउँछन् ।
माडीका स्थानीय नीलकण्ठ सापकोटाले निर्माण गरेको शिव मन्दिरको ०५० सालमा शिलान्यास भएको थियो । ०६८ सालमा उक्त मन्दिरको निर्माण सम्पन्न भएको थियो । ‘म ०२६ सालमै त्यो स्थानमा पुगेको थिएँ,’ सापकोटाले भने, यो ठाउँमा पूजाआज गरे पापबट मुक्त हुने जनविश्वास छ । यसको पूर्वपट्टि महेश्वरी गंगा छ ।’ उनका अनुसार मन्दिरमा पूजाआजाका लागि आएका भक्तजनबाट संकलन भएको १२ हजार रुपियाँ एसएसबीले लगेको र ५/६ वर्षदेखि भारतीय पुजारी आई पूजा गर्ने गरेका छन् । यसपटक भने त्यस स्थानमा नेपाली पुजारी माडीका स्थानीय यदु अधिकारी गएका थिए ।
सोमेश्वर गढी मात्र होइन, भारतले अहिले गढीबाट झन्डै १ किमी टाढासम्म रहेको पातलगंगासमेत आफूहरूको भनी हडप्दै आएको छ । यस ठाउँबाट भारततर्फको एक किमी पर रहेको बंगला राणाशासकले सिकार खेल्ने क्रममा बास बस्न प्रयोग गर्ने गरेको गर्दीका यमकान्त भुसालले बताए । उक्त बंगलासमेत कब्जा गरी एसएसबी बस्दै आएका छन् ।
चितवनका सिडिओ नरेन्द्रराज शर्माले उक्त क्षेत्रमा मन्दिर निर्माणका क्रममा दुई पक्षबीच विवाद हुँदा माडीबासीको ध्यानाकर्षणपछि स्थानीय प्रशासनले ६ सदस्यीय टोली बनाएर अनुगमन गरेको प्रतिक्रिया दिएका छन् । अनुगमन टोलीले दिएको प्रतिवेदन सरकारसमक्ष बुझाइसकेको सिडिओ शर्मा बताउँछन् । ‘दसगजा क्षेत्रमा रहेको मन्दिरको पुनर्निर्माणमा विवाद भएको हो,’ उनले भने, ‘दसगजामा भौतिक पूर्वाधार निर्माण गर्न नपाइने हो । यस समस्याको सरकारले कूटनीतिक तवरबाट समाधान गर्नुपर्छ ।’

प्रतिक्रिया