‘शीघ्र सहमति गर’

Rambaran Yadavकाठमाडौं, २२ जेठ । राष्ट्रपति डा. रामवरण यादवले दलहरूबीच शीघ्र सहमति गरी निर्वाचनको मिति तोक्न प्रमुख दलहरूलाई आग्रह गरेका छन् । एमाले अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक समितिका संयोजक झलनाथ खनाललाई मंगलबार राष्ट्रपति भवन शीतलनिबवासमा भेट्दै राष्ट्रपति यादवले निर्वाचन ऐन, असन्तुष्ट दलहरूसँगको वार्ता र चुनाव मितिबारे दलहरूबीच भएको छलफलका विषयमा जिज्ञासा राखेका थिए ।

भेटमा राष्ट्रपति यादवले चुनावका विषयमा दलहरूबीच भइरहेको छलफल र तयारीबारे खनालसँग जानकारी मागेका थिए । निर्वाचन अध्यादेशमा छिटो सहमति गरी चुनावको मिति तोक्ने वातावरण बनाउन उनले खनाललाई आग्रह गरेका थिए ।
जवाफमा खनालले निर्वाचन ऐनमा सहमति जुटाउन दलहरूबीच छलफल भइरहेको र छिट्टै टुंगोमा पुग्ने बताएका थिए । दलहरूले निकासका लागि विभिन्न चरणमा छलफल गरेको र छिट्टै निकासमा पुग्ने खनालले बताएका थिए । ‘अहिलेको राष्ट्रिय राजनीतिक स्थितिका विषयमा राष्ट्रपतिसँग गम्भीर विचार–विमर्श भयो,’ खनालले सौर्यसँग भने, ‘चुनाव गर्ने परिस्थिति कसरी निर्माण गर्न सकिन्छ अध्यादेशलगायत विषयको तयारी सकेर छिट्टै निर्वाचनको मिति तोक्नुपर्छ ।’
निर्वाचनसम्बन्धी अध्यादेशमा दलहरूबीच सहमति नभइरहेका बेला राष्ट्रपति यादवले दलका नेताहरूसँगको भेटवार्तालाई अघि बढाएका हुन् । राष्ट्रपति यादवले यसअघि सोमबार मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पनि भेटेका थिए ।
निर्वाचन अध्यादेशमा समानुपातिक प्रतिनिधित्वका लागि थ्रेसहोल्ड, फौजदारी कसुरदारले उम्मेदवार बन्न पाउने/नपाउने र उम्मेदवारले सम्पत्ति विवरण सार्वजनिक गर्ने/नगर्ने विषयमा मतभेद रहेको छ । उनीहरूले २४ जेठमा उच्चस्तरीय राजनीतिक समितिको बैठक बसेर सहमति गरी चुनावको मिति तोक्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया