′न जिल्लामा एलडिओ छन् न गाविसमा सचिव हजुर′

राजविराज, २० जेठ । जिल्ला विकास अधिकारी लामो समय हुँदा पनि जिल्लामा नआएको र गाविस सचिवहरु पनि सदरमुकाममै बस्दा विकास निर्माणका काम प्रभावित भएको स्थानीयले गुनासो गरेका छन् ।
सप्तरीमा सञ्चालन भईरहेका विकास निर्माण सम्वन्धी योजना तथा सेवा प्रवाहको अवस्थाको वारेमा अनुगमनमा आएका प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव सुर्य सिलवालसंग स्थानीय दलका नेता तथा सर्वसाधारणले यस्तो गुनासो गरेका हुन् । मधेसी जनअधिकार फोरम नेपालका जिल्ला अध्यक्ष यूसुफ अलिले जिविस अधिकारी अधिकांश समय जिल्लाबाहिर हुने गरेको बताए ।
गाविस सचिवहरु गाउँमै बस्नुपर्ने सरकारको निर्देशनलाई लत्याउदै सदरमुकाम बस्दै आएका गाविस सचिवका कारण पनि जिल्लाको विकास निर्माण प्रभावित भएको नागरिक सञ्जालका सुखराम यादवले वताए । हरेक असार मसान्तमा गाविस सचिव कुनै न कुनै वहानामा आन्दोलनमा उत्रने गरेको सहभागिहरुले बताए । समय रहुन्जेल आन्दोलन गर्ने र अन्तिम समयमा आएर विकास वजेटको तीन वटै किस्ता एकै पटक निकासा गरी बजेट दुरुपयोग गर्ने सचिवहरुको पुरानै तरिका भएको स्थानीयको आरोप छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव सिलवालले स्थानीयस्तरबाट उठेका गुनासाहरु सरकारले सम्बोधन गर्ने आश्वासन दिदै जिविस अधिकारी र गाविस सचिवहरुलाई कार्यस्थल नछोड्न निर्देशन दिए । उनले कुनै गुनासा भए सिधै हेलो सरकारमा सम्पर्क गर्न स्थानीयलाई सुझाव दिए ।

प्रतिक्रिया