स्थानीयवासीको लगानीमा खानेपानी योजना

कालिकोट, १८ जेठ । खानेपानीको हाहाकार भएपछि कालिकोटको बदालकोट गाविसका स्थानीयवासीले आफ्नै लगानीमा खानेपानी योजना निर्माण गरेका छन् । सदरमुकाम मान्मसँग जोडिएको बदालकोट गाविस–४ काँडागाउँका स्थानीयवासीले रकम उठाएर नौ सय मिटर पाइप खरिद गरी खानेपानी योजना निर्माण गरेका हुन् ।
३२ घरधुरी रहेको सो गाउँका स्थानीयवासीले प्रत्येक घरबाट दुई हजार रकम उठाएर पाइप खरिद र ढुवानीका लागि रकम संकलन गरेका हुन् । सो रकम केवल पाइपका लागि मात्र भएको र गाउँभन्दा टाढा दरायापातलमा रहेको मूलबाट पाइप बिछ्याउन जनश्रम गर्ने स्थानीयवासी हरिबहादुर बोगटीले बताए ।
उनका अनुसार गत वर्ष ३१ लाखको लगानीमा त्रिपल आरद्वारा सञ्चालनमा ल्याइएको खानेपानी योजना निर्माण भएको पाँच महिनाभित्र उपभोक्ता समितिका अध्यक्ष देवीशरण न्यौपाने र सचिव रहेका ऐनबहादुर खड्काले रकम हिनामिना गरेकाले खानेपानी सुचारु नभएपछि ३२ घरधुरीका स्थानीयवासी कुवाको पानी खान बाध्य थिए । अगुवाको भूमिका निर्वाह गर्ने ५५ वर्षीय कलिमान बोगटीले अहिलेको योजना दीर्घायु नभए पनि तत्कालका लागि खानेपानीको समस्या हल हुने बताए । जिल्लामा खानेपानीको अवस्थामा ७४ प्रतिशत सुधार भएको भनिए पनि खानेपानी योजना बन्ने तर बिग्रिएर मर्मत नहुने समस्याका कारण सुधारको सूचीमा रहेको पाइन्छ । जिल्ला खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय कालिकोटमा योजना निर्माणपछि मर्मत कोषको व्यवस्था छैन ।
कालिकोटमा आएका खानेपानी आयोजना आफ्नो ठाउँमा तान्ने होडबाजी मात्रै होइन कमिसनको समेत खेल सुरु भएको एक स्थानीय शिक्षकले आरोप लगाएका छन् । नाम नबताउने ती शिक्षकले आफ्नो स्कुलमा खानेपानी योजना माग गर्दा २५ प्रतिशत रकम अग्रिम माग गरेको र सो रकम आफूले नदीँदा योजना अर्काे गाविसमा गएको बताए ।

प्रतिक्रिया