निबन्ध लेखनको मेरो जमिन

Bhupin-Bayakulमलाई थाहा छ, उत्तम शान्ति पुरस्कारजस्तो पवित्र पुरस्कारको वजन गरुंगो छ । यो विशेष समारोहमा यसको गरिमालाई थामेर निबन्धको यात्रामा निरन्तर लागिरहने म प्रण पनि गर्छु । पुरस्कार र सम्मानलाई मैले सदैव पुनर्बलको ९चभष्लायचअझभलत० रूपमा स्विकारेको छु । यसले लेखकहरूको सिर्जनशील उत्तेजना ९कतष्mगगिक० र प्रतिक्रिया ९चभकउयलकभ० को सम्बन्धलाई बलशाली बनाउँछ । उत्तेजना र प्रतिक्रियाको सम्बन्धबाट नै लेखकको सिकाइ वा लेखनकार्य अगाडि बढ्ने हो । तर, कहिलेकाँही यो सम्बन्ध कमजोर हुन वा टुट्न पनि सक्छ । आम सिकारुलाई झैँ लेखकलाई पनि बीचबीचमा पुनर्वलको जरुरत रहन्छ । मेरो लेखन प्रक्रियामा यो पुरस्कार यस्तै पुनर्बल हो, मैले यही अनुभव गरेको छु ।
नेपाली निबन्धको सुरुआत आफँैमा एक चमत्कार थियो । महाकविले ‘एक बदमास ठिटो जो सडकमा हिँड्दा कहिलेकहिले ढुंगा हान्छ’ भने पनि वा ‘केही छैन सादा आलु तामा’ भने पनि लक्ष्मी निबन्ध संग्रह वास्तवमा नै भीमनिधि तिवारीले भनेझैँ ‘नेपाली भाषापरिषद्ले किम्बुका हरिया पात ख्वाएर महाकविले निकाल्नु भएको रेशम’ नै हो । त्यो रेशमबाट नेपाली साहित्यले कहिल्यै नच्यातिने नयाँ र आकर्षक पहिरन प्राप्त गरेको छ । त्यही आभूषणले कैयौँ गर्मी र जाडोबाट हामी बचेका छौँ । बाँच्नेछौँ । बालकृष्ण समज्यूले वस्तुपरक निबन्धमा दार्शनिक चेतनाको बीउ छर्नुभयो । उहाँको लेखनलाई नेपालको गोजी ज्ञानकोश भनेर प्रशंसा पनि गरियो । समले लेख्नुभयो कि विचारहरूमाथि स्वस्थ बहस नगरिकन अस्तित्वमा आएका विचारकलाई अन्धतापूर्वक पूजा गर्नाले पूर्वीय सभ्यतामा पश्चिममा झैँ विचारकहरू जन्मन सकेनन् । यो आफँैमा नेपाली निबन्धमा सम्झिइरहनुपर्ने वाणी थियो । हामीले कति सम्झिन सकेका छौँ ? छलफलको विषय हो । निबन्धलाई यत्ति लोकप्रिय बनाउने प्रयोगवादी बौद्धिक निबन्धकार शंकर लामिछानेका लेखकीय छाल नेपाली साहित्यको नदीमा सधैँभरि आइरहनेछन् । ती छाल हेरेर मात्रै पनि गर्व गर्ने प्रसकबकस्त ठाउँ छन् । हास्यव्यंग्य निबन्धमा भैरव अर्याल, सामाजिक चेतनाका निबन्धमा हृदयचन्द्रसिंह प्रधान, यात्रा निबन्धमा ताना शर्मा, निवार्तामा उत्तम कुँवरलाई भुल्यौँ भने पनि हाम्रो साहित्यको आकाश दूषित हुन्छ । दूषित आकाशबाट सफा पानी वर्षदैन, बरु अम्लवर्षा हुन सक्छ । पर्यावरणमा अम्लवर्षा तमाम् विकृत किरणहरूको प्रतिफल मानिन्छ । ओजन तहमा छेद परेपछि स्वच्छ पृथ्वीमा बिकिरणहरू छिर्छन् । नेपाली निबन्धको ओजन तहमा छेद पर्न नदिन उहाँहरू पछिका निबन्धकारले पनि परिश्रम गर्नु भएको छ । वर्तमानमा लेखिरहेका निबन्धकारले पनि ठूलो कसरत गर्दै हुनुहुन्छ । यो दिन नेपाली निबन्धको बारेमा एकपटक फेरि सोच्ने र हाम्रा निबन्धका उचाइलाई स्मरण गरेर गर्व गर्ने विशेष दिनको रूपमा पनि मैले लिएको छु ।
अरू सबैलेझैँ पहिलोपटक मैले स्कुलका परीक्षाका लागि निबन्ध लेखेँ, अंकको लागि । सरहरूले सिकाउनु भएका सूत्रका आधारमा । त्यसपछि आमाको अनुरोधमा निबन्धहरू लेख्न थालेँ । ती लाहुरे दाइका लागि लेखिएका चिठीहरू थिए । भारतीय सेना वा कुनै भारतीय कम्पनीमा काम गर्ने दाइहरूलाई लेखिएका चिठीमा पारिवारिक सुखदु:खका कथाहरू हुन्थे । जीवनका जटिलताहरूको चित्रण हुन्थ्यो । साहुका बर्बरताका अभिलेखहरू हुन्थे र भकारी रित्तिदै गएका दु:खहरूले चिठीका पानाहरू भरिन्थे । ती निबन्धका पाठक आमा, म र चिठी प्राप्त गर्ने दाइ मात्र हुन्थ्यौँ । जवाफ स्वरूप दाइहरूबाट मेरो लेखाइको ठोस प्रतिक्रिया प्राप्त हुन्थ्यो, प्रशंसा हुन्थ्यो । त्यसको प्रभाव थाहा पाउन गाह्रो थिएन । बस् दाइको चिठीको प्रतीक्षा रहन्थ्यो । मलाई लाग्थ्यो, यो दुनियाँमा लेखेर पनि मानिसको मन जित्न सकिँदोरहे छ । मलाई वास्तवमा तिनै चिठीहरूले साहित्यको सुन्दर र सफा खोलामा पौडिन सिकाएका हुन् । पौडिदै छु । मलाई थाहा छ, यो खोलामा म एउटा सानो तर जिज्ञासु माछा मात्र हुँ । र, यो पनि थाहा छ कि यो खोला कहीँ पुगेर नदीमा मिसिन्छ । अनन्त : नदी मिसिने त समुद्रमा नै हो । म एकदिन समुद्रमा पुग्ने आशाका साथमा खोलामा बगिरहेछु ।
बाल दिवसको दिन बाग्लुङ जिल्ला स्तरीय निबन्ध प्रतियोगीता, २०४५ मा दोस्रो पुरस्कार प्राप्त गरेपछि मेरो निबन्ध पढ्ने तृष्णा बढेर गयो । मैले ताना शर्माका यात्रा निबन्ध, भैरव अर्यालका व्यंग्य निबन्ध, श्यामप्रसाद शर्माको ता तिमी तपााई हजुर र केही राजनीतिक निबन्ध पढ्न थालेँ । महाकवि, सम र शंकर पढेको त धेरै समयपछि मात्र हो । लामो समय मेरो निबन्धप्रतिको झुकाव केवल प्रतियोगिताका लागि निबन्ध लेखन र पठनमा मात्रै सीमित रह्यो । मैले मेरो लेखकीय ऊर्जा कवितामा मात्र लगाएँ ।
२०५७ सालमा पहिलोपटक मनमस्तिष्कले स्वीकार गरेको पहिलो निबन्ध ‘जीवन : साझा बसको अन्तिम सिट’ लेखेपछि मलाई लाग्यो मैले अब निबन्धमा पनि खाइमेलो गनुपर्छ । मेरो निबन्धकारलाई मैले भोगेको जीवन, मैले देखेको समाज, मैले गरेको अध्ययन, मैले लेख्ने गरेको डायरी र मेरो कविले सहयोग गर्ने छ भन्ने विश्वासमा यी निबन्धहरू लेखिएका हुन् । चौबीस रिल यही सहयोगको प्रतिफल हो ।
पहिलो निबन्ध लेखेपछि मैले लामो समय अर्को निबन्ध लेख्ने साहस गर्न सकिनँ । मभित्रको कवि बारम्बार ममाथि हाबी भइरह्यो । तर, मलाई निबन्धमा लाग्नुपर्छ भन्ने आदेश दिने पनि त्यही कवि नै हो । यस बीचमा संरक्षण कविता आन्दोलनको सिलसिलामा विभिन्न गाउँ घुम्ने अवसर मिल्यो । कविताको लती थिएँ अब घुम्नुको पनि लत लाग्यो । यात्राका अनुभूतिहरूलाई खेर जान नदिन मैले सचेततापूर्वक यात्रा निबन्धमा काम गर्ने निर्णय गरेँ । प्राय: प्रकृतिको सुन्दरताको वर्णन र भूगोलको तथ्यांक आउने यात्रा निबन्धमा समाज र समयको चित्रण अनि दु:ख खेपिरहेका पात्रहरूको लेखन गर्दा विशेष प्रकारको काव्यिक आनन्द महसुस हुन थाल्यो । मलाई निबन्ध लेख्दा पनि कविता लेखेकोजस्तो आनन्दको आभाष हुन थाल्यो । लाग्यो कि कविता र निबन्ध त एकदम निकटका दाजुभाइ नै रहेछन् । म र मेरो भाइ दीपिनजस्तै । यिनीहरूका सिरा धमनीहरूमा प्रेमको उही रगत बग्दो रहेछ ।
पहिला केही पत्रिकाहरूमा मेरा निबन्धहरू प्रकाशित भएपछि मैले केही लेखकबाट प्रशंसा र निबन्धमा पनि लाग्नुपर्ने सुझाव प्राप्त गर्न थालेँ । केही लेखकहरूले कवितामा मात्र लागिरहन पनि भनेँ । तर, मैले पहिलोथरी लेखकमा बढी विश्वास गरेँ । निबन्ध यात्रामा ती विश्वासहरू मेरा खुड्किला थिए । ती खुड्किलाहरू चढ्दै म यहाँसम्म आइपुगेको हुँ । मेरो जीवनका यी चौबीस रिल सिर्जना हुनुमा सामान्यजस्ता लाग्ने तीनै टिप्पणी, एसएमएस, फोन वार्ता र अलिक पछि आएर फेसबुक प्रतिक्रियाहरूको हात छ । म स्मरण गर्छु ।
विश्वप्रसिद्ध व्यक्तिका बायोग्राफी र अटो बायोग्राफी पढेर मैले अन्यत्र कहीँकतै नसिकेका जीवनका अमूल्य कुराहरू सिकेको छु, बुझेको छु । महात्मा गान्धी र नेल्सन मन्डेला पढेर त्यागको, रुसो र तस्लिमा पढेर लेखकीय साहसको, कामु र पारिजात पढेर विसंगत बोध, गोर्की पढेर संघर्षको गहिरो पाठ पढेको छु । केही लेखकका यस्ता कृतिहरू मेरा लेखन प्रेरणाहरू रहे । प्रसिद्ध लेखक खगेन्द्र संग्रौलाको ‘अबको समय संस्मरणको समय हो’ भन्ने आसयको कुरा पढेपछि मलाई पनि संस्मरणहरू लेख्ने प्रेरणा मिल्यो । ‘अहिल्यै के संस्मरण लेखिहाल्नु’ भन्ने दुविधामा लेखिएका संस्मरणहरूलाई पाठकहरूले मन पराइदिनु भएपछि मैले तिनीहरूलाई पनि चौबीस रिलभित्रका केही रिलहरू बनाएँ । तिनीहरूको सौन्दर्य निजी अनुभूति मात्र हुन् । यसरी म निजी अनुभूतिको तहदेखि वैचारिक छलफलको तहसम्म यो कृतिमा उपस्थित भएको छु । मैले भनेको छु, ‘एक पाठकका रूपमा मलाई मानिसका मन–मस्तिष्क दुवै चलाउने रचना नै मन पर्छन् । मलाई निबन्धले अनुभूति गरेको मात्र नभै तर्क गरेको पनि मन पर्छ ।’
अब बढी कुरा के भनुँ ? जे भन्नु पर्ने हो धेरै हदसम्म पुस्तका पृष्ठहरूमा भनिसकेको छु । सांग्रिला बुक्सका मणि शर्मा जसले कविता लेखिरहेको मलाई निबन्धसंग्रह निकाल्न प्रेरणा दिए, उनलाई धेरै धन्यवाद † फेरि, जति भने पनि भन्न बाँकी रहने रहेछ । बाँकी कुरा भन्दै जाने वाचा गर्छु ।
(०६९ को उत्तम शान्ति पुरस्कार वितरण समारोहमा निबन्धकार भूपिनले दिएको मन्तव्यको सम्पादित अंश । उनको निबन्धसंग्रह ‘चौबीस रिल’ले उक्त पुरस्कार पाएको थियो ।)

प्रतिक्रिया