एमाओवादी चुनावविरोधी भएको पुष्टि : देउवा

पोखरा, १८ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले अनेरास्ववियु क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन नदिएर माउ पार्टी एकीकृत माओवादी निर्वाचनविरोधी भएको पुष्टि गरेको आरोप लगाएका छन् ।
देशव्यापी रूपमा स्ववियु निर्वाचनको माहोल बनिरहेका बेला तालाबन्दीमा उत्रेर उसले आाफूलाई वैद्य माओवादीभन्दा बढी निर्वाचनविरोधी प्रमाणित गरेको देउवाको भनाइ छ । निर्वाचन प्रक्रिया अगाडि बढाउने सन्दर्भमा पनि एमाओवादीले बेलाबेला विगतमा भएका सहमतिलाई उल्ट्याइदिँदा समस्या आउने गरेको उनले बताए । तत्काल स्ववियु निर्वाचन गरिनुपर्ने देउवाले बताए ।
नेता देउवाले शुक्रबार नेपाल प्रेस युनियिन कास्की शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनु नपर्ने उल्लेख गरे । पार्टी सभापति सुशील कोइरालाले राजीनामा दिनुपर्छ भनिरहेका बेला देउवाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
रेग्मी नेतृत्वको सरकारले निर्वाचन गर्ने र गर्नै पर्ने बाध्यता रहेको देउवाले बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता देउवाले लोकतन्त्रमा अन्य कुराको विरोध गरे पनि निर्वाचनको विरोध गर्न नहुने तर्क राखे । सबैले वर्तमान सरकार र त्यसले गरेका कामको विरोध गरे पनि निर्वाचनको विरोध गर्नु लोकतान्त्रिक प्रक्रिया नभएको देउवाको भनाइ छ ।

प्रतिक्रिया