काठमाडौंमै पहिरो

काठमाडौं, १८ जेठ । महाराजगन्ज शिक्षण अस्पताल पछाडि खाँडीपाखास्थित सुकुम्बासी बस्तीमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुने सप्तरीका १६ वर्षीय रामभगत राम हुन् । डेरा गरी बस्दै आएका उनको कोठा पहिरोले पुरिएपछि मृत्यु भएको हो । पहिरोमा सप्तरी मैनापोखरी–६ का २५ वर्षीय शिवानन्द राम र सप्तरी भंगाह–३ का ६० वर्षीय देवीलाल मण्डल पनि पुरिएका थिए । सुरक्षाकर्मीको टोलीले डोजर लगाएर माटोको ढिस्को निकालेपछि उनीहरूको उद्धार भएको थियो ।
शुक्रबार बिहान करिब ६ बजे पहिरो गएको हो । लगातारको वर्षाका कारण कमजोर बनेको माटोको ढिस्को भत्किन पुगेको प्रहरीले जनाएको छ । पहिरोले पुरिएको घर अम्बिका सारु मगरको हो । घरभन्दा माथि रहेको माटोको ढिस्को छिमेकीले उचित व्यवस्थापन नगरेपछि भत्किन पुगेको घरबेटी मगरले बताइन् ।
उद्धार कार्यमा महानगरीय प्रहरी वृत्त महाराजगन्ज, प्रहरी प्रभाग तिलिङगेटार, महाराजगन्जस्थित सशस्त्र प्रहरी २ नम्बर गण, प्रधान कार्यालयस्थित विपत व्यवस्थापन महाशाखा र नेपाली सेनाको टोली खटिएका थिए ।

प्रतिक्रिया