कम्लहरीको आन्दोलन जिल्लामा पनि चर्किदै

देउखुरी १७ जेठ । कम्लहरी सृजना चौधरी र मेघी चौधरीकाको रहस्यमय मृत्युको छानविनको माग गर्दै राजधानीमा आन्दोलन चर्किरहेको वेला दाङ सहित तराईका पाँच जिल्लामा पनि आन्दोलन चर्किन थालेको छ ।
दाङ लगाएत पश्चिम तराईका ५ जिल्लाका मुक्त कम्लहरीहरु शुक्रवार देखी जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेका छन् । कार्यस्थलबाटै कम्लहरीहरु बेपत्ता हुदा समेत सरकारले चासो नदिएको भन्दै मुक्त कम्लहरीहरुले जिल्ला प्रशासन कार्यालय दाङमा चार दिन धर्नामा बस्ने बताएका छन । ‘हाम्रा मागहरुमाथि सरकार गम्भिर छैन्, त्यसैले दवाव दिन राजधानी सहित अन्य जिल्ला सदरमुकाममा पनि आन्दोलन गर्न सुरु गरेका हौं’ संयुक्त संघर्ष समितिकी संयोजक उर्मिला चौधरीले भनिन्– ‘माग पुरा नहुदा सम्म हामी आन्दोलन स्थगित गर्दैनौं ।’ मृतक कम्लहरी बालिकाहरु सृजना र मेघी चौधरीका मालिक युवराज पौडेल, शंकर अधिकारी र बालकृष्ण शाहलाई कर्तब्य ज्यानमा र सृजनाको ओसारपसरामा संलग्न लालमणि शर्मा, पार्वती गिरी, र युवराज पौडेलदाई तत्काल पक्राउ गरी कानुनी कार्बाही प्रक्रिया अगाडि बढाउनुपर्ने उनीहरुको माग छ । यस्तै हालसम्म उद्धार हुन बाँकी रहेका कम्लहरीहरु शारिरीक, मानसिक, यौनिक रुपमा जोखिममा रहेकाले उनीहरुलाई तत्काल उद्धार गरी उचित रुपमा पुनः स्थापना गरी बालश्रमिक राख्नेलाई तत्काल कानुनी कारबाहि गनुृपर्ने माग गरेका छन् ।
आज देखि दाङ सहित बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा धर्ना बसेको र ४ दिनसम्म कार्यालय समयमा जारी रहने एफएनसीका सहायक प्रबन्धक पूर्णप्रसाद चौधरीले जानकारी दिए । राजधानीमा भने कम्लहरीहरुले गएको १४ गते देखि नै धर्ना दिँदै आएका छन् । धर्ना दिएको ७ दिनसम्म पनि आफ्ना माग सुनुवाई नभए जेठ २१ गतेदेखि तराईका २२ जिल्ला अनिश्चितकालीन बन्द र आम हड्ताल गर्ने कमलरी प्रथा उन्मुलन संयुक्त संघर्ष समितिले चेतावनी दिएको छ ।

प्रतिक्रिया