रेग्मी सरकारले नै निर्वाचन गराउँछ: देउवा

sher deubaपोखरा, १७ जेठ । नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनु नपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियनले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बरिष्ठ नेता देउवाले दलहरुबीचको सहमति अनुसार नै प्रधानन्यायाधीशले सरकारको नेतृत्व गरेकाले अहिले राजीनामा गर्नु नपर्ने उल्लेख गरे । ‘उतिबेला दलका नेताहरुले नै सरकारको नेतृत्व सुम्पिने, नेता देउवाले भने, ‘अनि अहिले राजीनामा दिनुपर्छ भनेर हुन्छ, उहाँले राजीनामा दिनुहुन्न ।’
संविधान सभा निर्वाचनको विकल्प नरहेको भन्दै नेता देउवाले सबै राजनीतिक दलहरुले निर्वाचनको वातावरण बनाउन सहयोग गर्नुपर्नेमा जोड दिए । ‘निर्वाचनको विरोध गर्नेहरु लोकतन्त्रको विरोधी हुन्’ उनले भने ।
देउवाले देशभर स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको माहौल बनिरहेका बेला एमाओवादी र नेकपा माओवादीका कारण स्थगित हुनु दुखद भएको टिप्पणि गरे । उनले माओवादीका गतिविधीहरु निर्वाचन गर्ने भन्दा निर्वाचन पर धकेल्ने खालका भएको बताए ।

प्रतिक्रिया