धनगढी, १७ जेठ । स्थानीय उद्योगी/व्यापारीहरुले जिल्ला विकास समिति कैलालीले कानून विपरित चुङ्गी कर उठाएको आरोपमा धर्नासहित अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
चिसापानीमा जिविसले सोमबारदेखि जिल्ला भित्रिने सुर्ती र मदिराजन्य वस्तु तथा पेयपदार्थमा एकप्रतिशत चुङ्गी कर उठाउन थाले पछि व्यवसायी विरोधमा उत्रिएका हुन् ।
उनीहरुले आज (शुक्रबार) जिविस कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुको तालाबन्दी पछि कार्यालयको काम प्रभावित भएको छ ।
आफूहरुसँग छलफल नगरेर सुर्ती र मदिराजन्य वस्तु तथा पेयपदार्थमा एकप्रतिशत चुङ्गी कर उठाउन थालेको स्थानीय व्यवसायीले आरोप लगाएका छन् ।
व्यवसायको विरोधसँगै जिल्ला भित्रिन लागेका ४३ वटा मालबाहक ट्रक चिसापानीमै रोकिएका छन् ।
स्थानीय विकास अधिकारी केदारबाबु बोगटीले उद्योग वाणिज्य संघको संयुक्त साझेदारीमा स्थानीय स्वायत्त शासन ऐन बमोजिम चुङ्गी कर उठाउन थालेको बताए ।
प्रतिक्रिया