चुनाव भाँडिएकोमा दोषारोपण

काठमाडौ १७ जेठ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव स्थगन भएपछि विद्यार्थी संगठनहरू एकअर्कालाई आरोप–प्रत्यारोपमा उत्रिएका छन् । चुनावी परिणाम आफ्नो पक्षमा पार्नका लागि अनेक हतकन्डा अपनाएका विद्यार्थी संगठनहरू चुनाव स्थगन भएपछि दोषारोपणमा उत्रिएका हुन् ।
भर्नाका विषयमा विद्यार्थी संगठनबीचको विवादका कारण त्रिभुवन विश्वविद्यालयले बिहीबार अनिश्चिकालका लागि चुनाव स्थगन भएको घोषणा गरेपछि उनीहरूबीच दोषारोपण हुन थालेको छ । चार वर्षपछि तय भएको चुनाव पनि भाँडेका विद्यार्थी संगठनले त्यसको दोष एकले अर्कालाई लगाएका छन् । मुख्य गरी चारवटा विद्यार्थी संगठनका अध्यक्षले बिहीबारै विज्ञप्ति निकालेर चुनाव स्थगन हुनुमा एकअर्कालाई दोषी देखाएका छन् ।
नेविसंघले  एमाओवादीनिकट अनेरास्ववियु क्रान्तिकारी, नेकपा–माओवादीनिकट अनेरास्ववियु क्रान्तिकार र अनेरास्ववियुजस्ता ‘अलोकतान्त्रिक कुतत्वहरू’ले निर्वाचन हुन नदिएको आरोप लगाएको छ । संघका अध्यक्ष रंजित कर्णद्वारा हस्ताक्षरित विज्ञप्तिमा दुई क्रान्तिकारी र अनेरास्ववियुका कारण चुनाव स्थगन हुन पुगेको जनाइएको छ ।
एमाओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीले अनेरास्ववियु र नेकपा–माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीको चुनावविरोधी हर्कतले चुनाव स्थगन गर्नुपरेको आरोप लगाएको छ । क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले जारी गरेको विज्ञप्तिमा पराजय भोग्नुपर्ने डरले अखिल र वैद्य क्रान्तिकारीले क्याम्पसमा तालाबन्दी गर्दै चुनाव हुन नदिएको उल्लेख छ । उसले फर्जी भर्ना छानबिन गर्न तयार नहुने र तालाबन्दी खोल्न पनि तयार नहुने अखिल र वैद्य क्रान्तिकारी नै स्ववियु चुनाव स्थगनको मुख्य कारण भएको आरोप लगाएको छ ।  क्रान्तिकारीले त्रिवि प्रशासन अखिल र वैद्य क्रान्तिकारीको मतियार बन्न पुगेको आरोपसमेत लगाएको छ ।
अनेरास्ववियुले एमाओवादीनिकट क्रान्तिकारीका कारण चुनाव स्थगन हुन पुगेको आरोप लगाएको छ । उसले अन्य संगठन फर्जी तथा एकमुष्ठ विद्यार्थी भर्ना खारेजीमा सहमत हुँदा क्रान्तिकारीले नमानेका कारण चुनाव स्थगनको अवस्था आएको जनाएको छ । अखिलले चुनाव गराउनका लागि त्रिवि पनि निरीह बनेको बताएको छ । उसले विवादको समाधान गरी नियमित विद्यार्थीबाट चुनाव गराउन माग गरेको छ ।
यस्तै नेकपा–माओवादीनिकट क्रान्तिकारीले चुनाव नहुनुमा मुख्य दोष एमाओवादीनिकट क्रान्तिकारीलाई लगाएको छ । उसले चुनावको मिति घोषणापछिका विद्यार्थी भर्ना रद्द गरेर चुनावमा जाउभन्दा क्रान्तिकारीले नमानेका कारण चुनाव अनिश्चित बनेको जनाएको छ । २३ जेठका लागि त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनावको मिति तय गरेको थियो ।

प्रतिक्रिया