नेतै पिच्छे बोली

सिन्डिकेट तोडौ–नेपाल
पोखरा : एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले चुनावमा नेकपा–माओवादीलाई सहमत गराउन चार दलीय सिन्डिकेट तोड्न दलहरू तयार हुनुपर्ने बताएका छन् । निर्वाचन आयोगमा धेरै दल दर्ता भइसकेकाले चार दलीय सिन्डिकेट तोडेर भए पनि माओवादीलाई चुनावमा सहभागी गराउनुपर्नेमा उनले जोड दिए ।
प्रेस चौतारी कास्कीले बिहीबार पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । उनले चार दलबीच भएको सहमति अन्य दलहरूलाई मन नपर्नु स्वभाविक भएको समेत उनले बताए । ‘चार दलबीचको निर्णय यी दलभित्रै त विवादित छ भने वैद्य माओवादीलाई चित्त नबुझ्नु स्वभाविक हो,’ उनले भने । वर्तमान राजनीतिक प्रक्रियाको विरोधमा रहेका दललाई चुनावमा ल्याउन सरकार र मुख्य दलहरूले वातावरण बनाउन नसकेको आरोपसमेत उनले लगाए ।
निर्वाचन मिति छिटो घोषणा गरेर समस्या समाधान नहुने भन्दै उनले मिति घोषणा गर्न ढिलाइ नभएको जिकिर गरे । अन्य पार्टीका केही नेताले भनेभैँm मुलुकमा प्रतिगमनको खतरा नरहेको उनले प्रस्ट पारे । विगतमा भएका सहमतिबाट नेकपा एमाले कुनै पनि हालतमा पछि नहट्ने भन्दै नेपालले थ्रेसहोल्ड, संविधानसभाको आकार र फौजदारी अभियोग लागेकालाई उम्मेदवार बन्न नदिने सहमति एमाओवादीले तोड्न खोजेको आरोप लगाए ।
अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीलाई नियुक्ति गर्न गरिएको सहमतिलाई पुनर्विचार गर्नुपर्‍यो भनी प्रस्ताव गर्दा एमाओवादीले विगतका सहमति विपरित काम गर्न नसक्ने भनेर उम्किएको नेपालको भनाइ थियो । त्यही कुराले पार्टीभित्र र अन्य दलभित्र पनि विवाद भइरहेको उनले जानकारी दिए । (सौस)
नियत खराब–देउवा
पोखरा : नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई नजिर बनाएर एनेकपा माओवादी संविधानसभा निर्वाचन नगर्ने षडयन्त्रमा लागेको बताएका छन् । पोखरामा बिहीबार नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) को २२औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
नेता देउवाले कलेजमा विद्यार्थीले आफ्ना हकहितका लागि त प्रतिनिधिलाई चुन्न नपाएको भन्दै संविधानसभाको निर्वाचनमा जे पनि गर्नसक्ने धारणा राखे । ‘स्वतन्त्र विद्यार्थीको निर्वाचन कुनै पनि हालतमा हुनुपर्छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले भने, ‘स्ववियु निर्वाचन हुने वातावरण सरकारले बनाइदिनुपर्छ’, ‘क्याम्पसमा ताला लगाउँदैमा संविधानसभा निर्वाचन रोक्न
पाइँदैन ।’
लोकतन्त्रको स्थायित्व नै निर्वाचन भएकाले जसरी भए पनि निर्वाचन गरेर देशलाई अग्रगामि दिशामा लैजानुपर्ने उनको भनाइ छ । उनले संविधानसभाको निर्वाचनमा सबै दलको सहभागिता अनिवार्य रहेकोले आन्दोलनरत दलहरूलाई पनि सहमतिमा
ल्याउनुपर्ने बताए । आगामी मंसिरमा चुनाव गर्नुपर्ने बताउँदै देउवाले अब सबैले चुनावकै पक्षमा ध्यान दिनुपर्ने उल्लेख गरे । (सौस)
राजीनामा दिनुपर्दैन–ठाकुर
विराटनगर : तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले अन्तरिम मन्त्रिपरिषद्का  अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदवाट राजीनामा दिनु नपर्ने बताएका छन् । प्रमुख दलहरूबीच नै रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने र नपर्ने विवाद भइरहेका बेला तमलोपा अध्यक्ष ठाकुरले रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिन जरुरी नरहको बताएका हुन् ।
बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले भने, ‘रेग्मीजीलाई सबैको सहमतिमा प्रधानमन्त्री बनाइएको हो अहिले कसैले स्वार्थका लागि राजीनामा माग्दैमा दिन पर्दैन ।’ प्रधानमन्त्री रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिँदैमा निर्वाचनको माहोल बन्छ भन्नेमा आफू विश्वस्त नरहेको ठाकुरको तर्क थियो ।
अध्यक्ष ठाकुरले आगामी संविधानसभा निर्वाचनमा थ्रेसहोल्डको व्यवस्था राख्न नहुने समेत बताए । नेपाली कांग्रेस र नेकपा एमालेले थ्रेसहोल्डको व्यवस्था गर्नुपर्ने बताइरहेका बेला अध्यक्ष ठाकुरले थ्रेसहोल्डको व्यवस्थाले प्रतिनिधित्व सुरक्षित नहुने तर्क गरे । ‘थ्रेसहोल्डको व्यवस्थाले साना दल एवं आदिवासी जानजाति, महिलालगायतको प्रतिनिधित्व हुन सक्दैन,’ उनले भने, ‘संविधानसभालाई समावेशी वनाउन पनि थ्रेसहोल्डको व्यवस्था राखिनु हुँदैन ।’ उनले थ्रेसहोल्ड र फौजदारी अभियोग लागेकाले उम्मेदवारी दिन नपाउने सम्बन्धमा दलहरूबीच कुनै सहमति नभएको जिकिर गरे । (सौस)

प्रतिक्रिया