कमलरी शोषणका दोषीलाई कारबाहीको माग

काठमाडौं, १६ जेठ । कमलरी राख्ने, बेपत्ता बनाउने तथा यौन शोषणलगायतका घटनामा थारु चेलीले पीडित हुनु परेको भन्दै कमलरी प्रथा उन्मुलन संयुक्त संघर्ष समितिले छानविन र कार्बाहिको मागसहित अनिश्चितकालीन आन्दोलन सुरु गरेको छ ।
राजधानीलगायत विभिन्न जिल्ला थारु समुदायका बालिका र युवतीहरुमा यौनशोषणलगायतका घटनामा बृद्धि भएपछि समितिले आन्दोलन सुरु गरेको जनाएको छ ।
दाङ जिल्लाकी १२ वर्षीय सृजना चौधरीको ललितपुरस्थित मालिकको घरमा मट्टीतेल छर्केर आगोमा जलेर मुत्यू भएको तथा धनगढीकी १५ वर्षीय उर्मिला नाराथारु, दाङ रामपुरकी १३ वर्षीय सीमा होजामगरको मृत्यू हुनुमा मालिकहरु नै दोषी देखिएको समितिका संयोजक फकला थारुले आरोप लगाए ।
समितिले दोषीलाई कारबाहीको माग गरेर राजधानी केन्द्रित आन्दोलन गर्दै आएको जनाएको छ ।
काठमाडौंस्थित सिंहदरबार पूर्वी गेट नजिकै हनुमानथानमा आज (बिहीबार) भेला भएका पूर्व सभासद् शान्ता चौधरी र सुकदैया चौधरी तथा कमलरीहरुले थारु महिलाले भोग्नु परेको पीडा, हत्या र शोषणका दोषीलाई कार्बाही गर्नुपर्ने माग गरे ।

प्रतिक्रिया