थ्री–स्टारको विजय अभियान जारी

काठमाडौं, १६ जेठ । सहिद स्मारक लिग च्याम्पियन थ्री–स्टार क्लबले गोर्खा कप फुटबल प्रतियोगितामा विजय अभियानलाई निरन्तरता दिएको छ । बुधबार भएको खेलमा थ्री–स्टार क्लबले आरसिटीलाई ५–१ ले पराजित गर्‍यो । यसअघि थ्री–स्टार क्लबले पहिलो खेलमा देशभक्त क्लबलाई ६–० ले पराजित गरेको थियो । बुधबार नै भएको खेलमा एपिएफले देशभक्त क्लबलाई १०–१ ले पराजित गर्‍यो । थ्री–स्टारलाई जित दिलाउने क्रममा प्रकाश बुढाथोकी, सन्तोष साहुखल, विराज महर्जन, डुडोज र जगजित श्रेष्ठले गोल गरे । यसैगरी, आरसिटीका लागि सुमन लामाले गोल गरे । छैटौँ मिनेटमा प्रकाशको प्रहार नीरज मगरमा ‘डिफ्लेक्ट’ हुँदै गोलमा परिणत भएको थियो ।
२०औँ मिनेटमा सुमनले बराबरी गोल गरेपछि खेल रोमाञ्चक हुने सम्भावाना देखिएको थियो । २३ औँ मिनेटमा थ्री–स्टारले दोस्रोपटक अग्रता लिन सफल भयो । प्रकाश बुढाथोकीको प्रहार बारमा लागेपछि सन्तोषले रिबाउन्डमा गोल गरे । ३०औँ मिनेटमा बिराजले २५ यार्ड टाढाबाट गोल गरे । ४९औँ मिनेटमा डुडोजको पासमा जगजितले गोल गरे । ६४ औँ मिनेटमा डुडोजले गोल गरे । यसअघि थ्री–स्टारले पेनाल्टी पाए पनि सन्तोषले यसलाई खेर फालेका थिए ।
यसअघि भएको खेलमा राजेन्द्र रावलले चार गोल गरे । १४औँ मिनेटमा पहिलो गोल गरेका राजेन्द्रले नै २६औँ मिनेटमा दोस्रो गोल गरे । ३३औँ मिनेटमा सुदी सिख्राकारले गोल गरे । ४३औँ मिनेटमा तेस्रो गोल गरेका राजेन्द्रले ५२औँ मिनेटमा चौथो गोल गरे । ५८औँ मिनेटमा अजय पौडेलले आत्मघाती गोल गरे भने ६५औँ मिनेटमा नवीन लामा र ६७ औँ मिनेटमा जाङ्बु शेर्पाले गोल गरे । वैकल्पिक खेलाडी विशाल श्रेष्ठले मैदान प्रवेश गरेको पाँच मिनेटमा नै गोल गरे भने अन्तिम मिनेटमा गणेश लावतीले पेनाल्टीमा गोल गरे । देशभक्तका लागि आशिष शाक्यले गोल गरे ।  समूहमा थ्री–स्टार ६ अंक छ भने एपिएफ र आरसिटीको तीन अंक छ । देशभक्तको कुनै अंक छैन ।

प्रतिक्रिया