साह्रै उपद्रयाहा थिएँ

Upendra-Yadav०१६ सालमा सप्तरीको भगवतपुरमा जन्मेँ । सात वर्षको उमेरमा सुनसरीको मोहन प्राथमिक विद्यालयमा कक्षा एकमा भर्ना भएँ । सुरुदेखि नै पढाइमा उत्कृष्ट थिएँ । बदमासी पनि उत्तिकै गर्थें । घरबाट स्कुल पुग्यो, सरको आँखा छलेर फेरि भागिहाल्यो । चार–पाँच साथीको एउटा समूह थियो, सबैले मलाई साथ दिन्थे । हामीलाई शान्त भएर बस्नै मन लाग्दैनथ्यो । केही न केही गरिरहनै पर्ने । अरूलाई सताउन र डुलिरहन खुब मन पथ्र्यो ।
जति उपद्रो गरे पनि कक्षामा प्राय: प्रथम वा दोस्रो भइरहन्थे । पढाइ राम्रो भएकाले बदमासी छायाँमा पर्थे । घरमा सबैको मन जितेको थिएँ । स्कुल जाने बहानामा गाउँगाउँ डुलिहिँड्थ्यौँ । नयाँनयाँ गाउँ घुम्दा रमाइलो लाग्थ्यो । माध्यमिक तह पढ्ने बेलासम्ममा त भारतका तेह्र–चौधवटा प्रान्त घुमिसकेको थिएँ । घुम्नलाई पैसा चाहिने । घरमा माग्थ्यौँ, कहिले किताब किन्ने त कहिले फिस तिर्ने बहाना देखाउँथ्यौँ । घुमेरै सबै पैसा सकिन्थ्यो । तर, स्कुलको फिस त बाँकी नै हुन्थ्यो । घरमा थाहा पाएपछि गाली गर्दै फेरि तिरिदिन्थे । कहिलेकाहीँ बुबाको पकेट पनि मार्न भ्याउँथेँ । थाहा पाएपछि गाली गर्थे । म पनि सहजै उत्तर दिन्थेँ– ‘घुमेर सकियो ।’ कहिलेकाहीँ त हप्तौँ हराइदिन्थ्यौँ । घरमा निकै खोजी हुन्थ्यो, परिवार तनाबमा हुन्थे । हामीचाहिँ मस्तीमा व्यस्त । जति सम्झाए पनि हामी सुध्रिएनौँ । हुँदाहुँदा परिवार नै हार मान्थे ।
घरनजिकै पातलो जंगल थियो । राति त्यहाँ लुकेर मान्छेका घरमा ढुंगा र माटोका डल्ला हान्थ्यौँ । मान्छे भूतले तर्सायो भन्दै कराउन थाल्थे । हामीलाई बडो रमाइलो लाग्थ्यो । जंगलमा लुकेर मज्जाले हाँस्थ्यौँ । हाम्रो हर्कत थाहा पाएपछि गाउँलेहरू आइलाग्थे । हामी उनीहरूले नभेट्ने गरी टाप ठोक्थ्यौँ । जति गाली, हप्की खाए पनि हामीले उपद्रो छोडेनौँ । अति भएपछि गाउँलेहरू आफैँ भन्न थाले– ‘यिनीहरूसँग हाम्रो केही नलाग्ने भो ।’ नयाँनयाँ खुरापात फुरिरहन्थ्यो दिमागमा । साथीहरू मैले जे भने पनि मानिहाल्थे । स्कुलमा फुटबल, भलिबल खेल्थ्यौँ । अतिरिक्त क्रियाकलापमा पनि सधैँ अगाडि नै हुन्थेँ । सरहरूको मन जितेको थिए । पढाइकै कारण धेरै गल्ती माफ पाएको थिएँ ।
किसान परिवार भएकाले पढाइसँगै घरको काम पनि गर्नुपथ्र्यो । जे काम पनि मन लगाएरै गर्थें । खेतीपाती होस् वा अरू । गोठालो जाँदा रमाइलो लाग्थ्यो । बस्तुजति अरूको बालीमा छोडिदियो, आफूचाहिँ खेल्नमा मस्त । खेतीवाला आउनासाथ कुलेलम ठोक्थ्यौँ । मिल्ने साथीमध्ये गणेश धमला एक थियो । गोठाला जाँदा भैँसीको ढाडमा बसेर गीत गाउँथ्यो । भैँसीमाथि चढ्दा खुब रमाइलो लाग्थ्यो उस बेला ।
माध्यमिक पढ्ने भएपछि होस्टल बस्न थालेँ । होस्टलको वार्डेन हाम्रो व्यवहारले महिनादिन पनि टिक्दैनथ्यो । सय जना विद्यार्थीले एकैचोटि आआफ्नो माग राख्न थालेपछि उसको के लाग्नु ? अरूलाई दु:ख दिँदा रमाइलो लाग्थ्यो । सिलावरको थालमा भात खान्थ्यौँ । होस्टलमा पानीजस्तै पातलो दाल दिने भएकाले खुब रिस उठ्थ्यो । लौ बनाउ पातलो दाल भन्दै थाल प्वाल पारिदिन्थ्यौँ । सबै चुहिएर जान्थ्यो । दाल हाल्ने मान्छे हाल्दाहाल्दा थाक्थ्यो । हामी आनन्द मानेर हेथ्र्यौं ।
– चमिना

प्रतिक्रिया