यस कारण स्ववियु चुनाव

यही २३ जेठमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि विद्यार्थी संगठनहरू बाहुबलको प्रयोगमा उत्रिएका छन् । उनीहरू जसरी भए पनि स्ववियु चुनावको नतिजा आफ्नो पोल्टामा पार्न कस्सिएका छन् । त्यति मात्र होइन, उनीहरू फर्जी विद्यार्थी भर्नादेखि अनेक हतकन्डा अपनाउनसमेत पछि परेको देखिन्न । वातावरण आफूअनुकूल नहुने देखेपछि उनीहरूले क्याम्पसहरूमा पालैपालो तालाबन्दीसमेत गर्नुले स्ववियु चुनाव निष्पक्ष तथा निर्भयताका साथ सम्पन्न हुन्छ भन्नेमा आशंका उब्जिएको छ ।
क्याम्पसहरूमा तालाबन्दी तथा विद्यार्थी संगठनहरूबीचको विवादको अवस्थामा यथास्थितिमा चुनाव गराउन नसक्ने भनेर काठमाडौं उपत्यकामा रहेका त्रिभुवन विश्वविद्यालयअन्तर्गतका १५ वटा आंगिक क्याम्पसले स्पष्ट पारिसकेका छन् । संगठन दर्तासमेत प्रभावित भएका बेला २३ जेठका लागि निर्धारित स्ववियु चुनाव अन्योलमा पर्दै छ । जसरी संविधानसभा चुनावको मितिमा अन्योल उत्पन्न भएको छ त्यसैगरी स्ववियु चुनावमा पनि अन्योल देखिँदै छ । यस्तो अवस्था आउनु लोकतान्त्रिक तथा गणतान्त्रिक व्यवस्थाका लागि राम्रो संकेत पटक्कै होइन । लोकतन्त्र/गणतन्त्रको संस्थागत विकासका लागि चुनाव अनिवार्य सर्त हो । चुनावबाट लोकतान्त्रिक मूल्य र मान्यता स्थापित हुने सैद्धान्तिक तथ्य छ । यस्तो अवस्थामा स्ववियु चुनाव पनि अन्योलमा पर्नु विद्यार्थीहरू मात्र होइन, समग्र लोकतान्त्रिक पद्धतिकै लागि घातक हुन सक्छ ।
यस बेला विद्यार्थी नेताहरूले यो बुझ्न जरुरी छ कि लोकतान्त्रिक पद्धतिको अभ्यासका लागि चुनाव अनिवार्य छ र यसलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनु विद्यार्थी संगठनहरूको दायित्व हो । स्ववियु चुनावले पनि राज्यमा राजनीतिक दलहरूको उपस्थितिको आँकडा बाहिर ल्याउँछ भनिन्छ, जसरी स्थानीय चुनावले दलहरूको अवस्थालाई देखाउँछ । खासमा राजनीतिक दलहरूले संसदीय या संविधानसभा चुनावको परिणामलाई आफ्नो पक्षमा पार्न साम, दाम, दण्ड र भेद प्रयोग गरेजस्तै विद्यार्थी संगठनहरूले पनि स्ववियु चुनावका लागि त्यस्तै हतकन्डा अपनाएको देखिन्छ । यसले विद्यार्थी तहदेखि नै राजनीतिलाई गलत बाटोतिर मोड्दै छ । राजनीतिक संस्कार थप बिग्रँदै छ ।
विश्वविद्यालय तथा कलेज तह भनेको ज्ञान आर्जन गर्ने थलो हो । छलछाम र छक्कापञ्जाको राजनीति सिक्नलाई होइन । तर, विद्यार्थीको मुद्दालाई ओझेलमा पारेर जसरी भए पनि चुनाव जित्नका लागि विद्यार्थी संगठनहरूबीच होडबाजी चलेको देखिन्छ । यसले स्ववियुलाई विद्यार्थीको साझा थलो बनाउनमा आँच पुर्‍याउँछ । स्ववियुमा भ्रष्टारचार हुने गरेको आरोप लाग्दै आएका बेला विद्यार्थी नेताहरूमा देखिएको लुछाचुडी प्रवृत्तिले यसमा थप बल पुर्‍याउँछ । विद्यार्थीहरूमा दलीय आबद्धता चाहिन्छ तर त्यसको दुरुपयोग बढेर गएको छ । विद्यार्थी नेताहरूमा पनि राजनीतिक संस्कार खस्कँदो छ ।

प्रतिक्रिया