भारतीय मोस्टवान्टेड काठमाडौंमा समातिए

Bablu-dubeकाठमाडौं, १६ जेठ । भारतीय प्रहरीले मोस्टवान्टेड सूचीमा राखेको कुख्यात अपराधी बब्लु दुबे नेपालमा पक्राउ परेका छन् । अञ्चल प्रहरी कार्यालय वीरगन्जबाट खटिएको प्रहरी टोलीले दुबेलाई काठमाडौंको सीतापाइलाबाट मंगलबार राति पक्राउ गरेको हो । टोलीको कमान्ड एसएसपी सर्वेन्द्र खनालले गरेका थिए ।
पक्राउपछि दुबेलाई प्रहरीले बुधबार वीरगन्जमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । भारतको पूर्वी चम्पारण मोतीहारी सिसुवाखडार निवासी ३० वर्षीय दुबे नेपालमा ८ महिनादेखि ज्यान मार्ने धम्की, चन्दा आतंकलगायत विभिन्न आपराधिक गतिविधिमा संग्लन रहेको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमा दुबेले भारतमा बिहार पिपुलस लिबरेसन आर्मी नामक अपराधी समूह खडा गरी ३६ जना भारतीयको हत्या गरिसकेको र फिरौतीबाट करोडौँ रुपियाँ असुली गरेको बयान दिएका छन् । उनले ३६ मध्ये ६ जनाको हत्या आफैँले गरेको पनि पाइएको छ ।
दुबेले भारतीय प्रहरीका अधिकारीहरू, लोकसभा सदस्यहरूलाई टेलिफोनबाट धम्की दिने गरेको तथा गएको तीन साताभित्र रामगाढवामा २ जनाको हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले दुबेको साथबाट नेपाली नम्बर भएको ५ थान मोबाइल सेटसहित १ लाख ७३ हजार नेपाली रुपियाँ र ६० हजार भारतीय रुपियाँ बरामद गरेको छ । दुबेलाई अञ्चल प्रहरी कार्यालयमै राखेर थप अनुसन्धान भइरहेको एसएसपी खनालले जानकारी दिए ।
यसअघि कर्तव्य ज्यान, बैंक लुटपाट, डकैतीलगायत विभिन्न आपराधिक क्रियाकलापमा पक्राउ परेका दुबेले भारतीय जेलमा १० वर्ष सजाय काटिसकेका छन् । प्रहरीका अनुसार भरतीय प्रहरीले व्यापक खोजेपछि दुबे आठ महिनादेखि नेपालका विभिन्न स्थानमा लुक्दै आएका थिए ।

प्रतिक्रिया