एक करोडको विद्युत् खेर

काठमाडौ, १६ जेठ । कुलेखानी दोस्रो जलाशययुक्त जलविद्युत् आयोजनाको ट्रान्सफर्मरमा व्यवस्थापन कमजोरीको कारण आगलागी भएपछि एक करोड रुपियाँ बराबरको विद्युत् खेर गएको छ ।
गत ३ वैशाखको राति वाइफेजको ट्रान्सफर्मरमा ब्रुसिङ भएर पड्केपछि आगलागी भएको थियो । आगलागीपछि ३२ मेगावाटको उक्त आयोजनाको विद्युत् खेर गएको हो । ६० मेगावाटको कुलेखानी पहिलो सञ्चालन गरेका बेला दोस्रोमा जाने पानी खेर गएको र त्यसका कारण करिब २३ लाख युनिट विद्युत् प्राधिकरणले घाटा व्यहोर्नुपरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवले पहिलो आयोजना चलाउँदा दोस्रोमा जाने पानी खेर जाने भएकाले पहिलो आयोजनाबाट कम विद्युत् उत्पादन गरेको जानकारी दिए । ‘अत्यावश्यक बेला बाहेक कुलेखानी पहिलो चलाएका छैनाँै, त्यसकारण धेरै पानी खेर जान पाएन,’ उनले भने । कुलेखानी दोस्रोले गण्डक आयोजनाबाट ल्याएको ट्रान्सफर्मर मर्मतकार्य अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरण स्रोतका अनुसार ट्रान्सफर्मर आगलागीलगायत क्षति हुनबाट जोगिन अपनाउनुपर्ने पूर्वसुरक्षा तयारी नअपनाएका कारण प्राधिकरणले एक करोड रुपियाँ बराबरको क्षति व्यहोर्नुपरेको छ । ‘पूर्वसुरक्षा तयारी व्यवस्थापन र गण्डकबाट ट्रान्सफर्मर ल्याउनुपर्ने क्रममा भएको लापरबाहीको कारण प्राधिकरणले एक करोडभन्दा बढी घाटा व्यहोर्नुपर्‍यो,’ प्राधिकरणका एक अधिकारीले भने, ‘सावधानी अपनाएको भए आगलागी हुँदैनथ्यो र गण्डक आयोजनाबाट ल्याइएको ट्रान्सफर्मर परीक्षण गरेर ल्याइएको भए पनि यति धेरै पानी फाल्नुपर्दैनथ्यो ।’ तत्कालका लागि भन्दै ल्याइएको ट्रान्सफर्मरसमेत नचल्ने अवस्था रहेपछि प्राधिकरणले थप घाटा व्यहोर्नुपरेको थियो ।
प्राधिकरणले हरेक आयोजनाका ट्रान्सफर्मर चट्याङ पर्नुका साथै अन्य कारणले क्षति नहोस् भनेर अर्थिङलगायत उपकरणको व्यवस्था गरेको हुन्छ । तर, कुलेखानी दोस्रोमा अर्थिङ काम नगर्ने अवस्थामा रहेको तथा छुट्टै सिंगल फेजको ट्रान्सफर्मर रहेकाले त्यसको सुरक्षाका लागि पोटेसन वाल लगाउनुपर्नेलगायत सामान्य सुरक्षाको व्यवस्थाप्रति आयोजनाले बेवास्ता गरेको प्राधिकरणका अधिकारीले बताए ।
तीन/तीन महिनामा अर्थिङलगायत ठीक छ कि छैन भनेर परीक्षण गर्नुपर्ने भए पनि कुलेखानीमा त्यो नगरेको पाइएको छ । प्राधिकरणले ट्रान्सफर्मर पुरानो भएकाले समस्या भएको बताउँदै आएको छ । प्राधिकरणका अनुसार ट्रान्सफर्मर अर्को राख्नका लागि टेन्डर आह्वानसमेत गरिसकिएको छ ।
प्राधिकरणका एक इन्जिनियरले भने ट्रान्सफर्मर पुरानो भएको कारण नभई लापरबाहीका कारण आगलागी भएको भन्दै प्राधिकरणले यसलाई गम्भीर रूपमा लिएर अनुसन्धान गर्नुपर्ने बताए । ‘कम लोडमा चलिरहेको आयोजनाको ट्रान्सफर्मर आगलागी हुनुमा गम्भीर लापरबाही छ तर प्राधिकरणले यसलाई गम्भीर रूपमा लिएर अनुसन्धान समितिसमेत बनायो, सम्बन्धित विभागले गरेको अनुसन्धानमै चित्त बुझाउनु व्यवस्थापनको समेत बेवास्ता हो,’ उनले भने ।
ऊर्जा मन्त्रालयले गरेको छुट्टै अनुसन्धानमा समेत व्यवस्थापनको कमजोरी मात्र भनेर झारा टार्ने काम गरेको र गहिरो रूपमा अध्ययन नगरेकाले ट्रान्सफर्मर आगलागी प्रकरण ऊर्जाले समेत बेवास्ता गरेको आरोप ती अधिकारीले लगाए । ट्रान्सफर्मर आगलागीबाट करिब ५ करोड बराबरको क्षति भएको छ । २४ वर्षअघिको उक्त ट्रान्सफर्मरमा गत वर्षसमेत समस्या आएको थियो ।

प्रतिक्रिया