महिला हिंसा गर्नेलाई छाड्नु हुन्न : भण्डारी

काठमाडौं, १५ जेठ । एमाले उपाध्यक्ष विद्या भण्डारीले महिलामाथि हिंसा गर्ने व्यक्तिलाई कुनै पनि हालतमा माफी दिन नहुने बताएकी छन् ।
अखिल नेपाल महिला संघले मंगलबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा नेत्री भण्डारीले राजनीतिक आडमा हुने हिंसा सबै मिलेर अन्त्य गर्न प्रतिबद्ध हुनुपर्ने बताइन् । संघकी अध्यक्षसमेत रहेकी भण्डारीले संघले स्थापनाकालदेखि नै महिला हिंसाको विरोधमा रहेको उल्लेख गर्दै सधैँभरि महिला अधिकारका लागि आवाज उठाउने प्रतिबद्धता जनाइन् । महिला हिंसा अन्त्यका लागि राज्यको सबै तहलाई दबाब दिने उद्देश्यसहित १५ र १६ जेठमा काठमाडौंमा हुन लागेको संघको राष्ट्रिय महिला भेलाबारे जाकारी गराउने उद्देश्यले संघले पत्रकार सम्मेलन गरेको थियो । ‘राष्ट्रिय भेलाबाट केही नीति बन्नेछ जसलाई कार्यान्वयन गर्न संघले दबाब सिर्जना गर्नेछ,’ उनले भनिन् । महिला हिंसा अन्त्य नभए समाज सभ्य नहुने उनको भनाइ थियो ।
भेलामा जिल्ला अध्यक्ष, सचिव तथा जनवर्गीय संगठनमा रहेका महिला पदाधिकारी, संघका सदस्यहरूको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतिक्रिया