पहिलोपटक मेडिकल विद्यार्थीको सम्मेलन

काठमाडौं, १५ जेठ । देशमै चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीको पहिलो राष्ट्रिय सम्मेलन ‘मेडिकल स्टुडेन्ट नेसनल कन्फ्रेन्स’ हुने भएको छ ।
युनाइटेड नेसन युथ एन्ड मेडिकल स्टुडेन्ट एसोसिएसन नेपाल (युनिसान मेडिकल विद्यार्थी)ले चितवनमा बिहीबारदेखि सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलन तीन दिनसम्म चितवन मेडिकल कलेजमा सञ्चालन हुने युनिसान मेडिकल विद्यार्थीका मेडिकल
डाइरेक्टर प्रकाश बञ्जाडेले बताए ।
देशमै चिकित्साशास्त्र अध्ययन ३५ वर्ष पुगिसकेको भए पनि चिकित्साशास्त्र पढ्ने विद्यार्थीको यस्तो सम्मेलन हुन सकेको थिएन । ‘नेपालका सबै मेडिकल विद्यार्थीबीचको सम्मेलन यो पहिलोपटक हुन लागेको हो,’ बञ्जाडेले भने, ‘सम्मेलनमा १८ वटा मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत विद्यार्थी सहभागी हुनेछन् ।’ उनका अनुसार युनिसान मेडिकल विद्यार्थी नेपालमा एमबिबिएस अध्ययनरत विद्यार्थीको साझा संगठन हो ।
‘स्वस्थ नेपाल हाम्रो जिम्मेवारी, टुगेदर फर चेन्ज’ भन्ने नाराका साथ हुन लागेको सम्मेलनमा विद्यार्थीहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाबारे बञ्जाडेले कार्यपत्र प्रस्तुत गर्नेछन् । मेडिकल शिक्षामा अनुसन्धानबारे अदिती अग्रवाल, स्वास्थ्य सेवाको अवस्थाबारे क्षितिज भुजेल, ग्रामीण स्वास्थ्य सेवाबारे स्वेच्छा न्यौपाने तथा स्वास्थ्य सेवाको व्यापारीकरणबारे श्याम लौडारी, मेडिकल शिक्षाबारे कृष्णहरि खनाल, हिंसात्मक गतिविधिले विद्यार्थीमा पारेको प्रभावबारे आशिष मैनाली, समुदायमा आधारित मेडिकल शिक्षा विषयमा जितेन्द्र भण्डारीलगायतले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
१८ मेडिकल कलेजमा ९ हजार विद्यार्थी अध्ययनरत छन् । देशभरका कलेजबाट विद्यार्थीको प्रतिनिधित्व रहने सम्मेलनमा मेडिकल विद्यार्थीका समस्या, पढाइमा अन्तरदेशीय भिन्नता, विद्यार्थीको दायित्व, विद्यार्थी एकतालगायत विषयमा छलफल हुनेछ । सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन, नेपाल चिकित्सक संघ, नेपाल रेडक्रस सोसाइटी, औषधि उत्पादक कम्पनीलगायत संस्थाबाट पनि प्रतिनिधिका रूपमा सहभागी रहने बञ्जाडेले जानकारी दिए  ।

प्रतिक्रिया