करोडौको आयोजना अलपत्र

धनकुटा : जिल्लाको मारेककटहरे गाविसस्थित लेगुवा खोला लघु जलविद्युत् आयोजनाको कुलो पहिरोले भत्काएपछि लामो समयदेखि सञ्चालनमा आउन सकेको छैन । भत्किएको महेन्द्र कुलो आर्थिक अभावमा मर्मत नहुँदा करोडौँको आयोजना अलपत्र बनेको छ ।
दुई वर्षअघि निर्माण सम्पन्न भएको आयोजनाको कुलो सोही वर्ष भत्किएपछि आर्थिक अभावले अहिलेसम्म मर्मत गर्न नसकिएको आयोजनाका अध्यक्ष धनबहादुर कुँवरले बताए । तीन सय मिटरभन्दा बढी भत्किएको कुलोको मर्मतका लागि १८ लाख रुपियाँ खर्च लाग्ने कुँवरको भनाइ छ । आयोजना सञ्चालनमा नआउँदा पानी झार्न प्रयोग गरिने पाइप र विद्युत् उत्पादन गर्ने मेसिनमा समेत खिया लाग्न थालेको स्थानीयवासीले बताएका छन् ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट ५० लाख रुपियाँ अनुदान, सेयर धनीबाट १६ लाख र स्थानीय श्रमदान गरेर एक करोड चार लाखको लागतमा सो आयोजना सम्पन्न भएको थियो । आयोजनाका लागि १३ जना सेयर धनीले कृषि विकास बैंकबाट १६ लाख लिएको ऋणको ब्याज मात्रै पाँच लाख पुगिसकेको आयोजनाका पूर्वअध्यक्ष नारद कटुवालले बताए । कुलो मर्मत नहँुदा मारेककटहरे गाविस–६, ७, ८ र ९ का पाँच हजार रोपनी खेत बाँझिएको छ ।

प्रतिक्रिया