बैंकिङ सुविधाबाट सर्वसाधारण वञ्चित

बर्दिवास, १४ जेठ । महोत्तरीको सुदूर पश्चिमवर्ती क्षेत्रमा वाणिज्य कारोबारका लागि बैंकको सुविधा नहुँदा सर्वसाधारण मर्कामा परेका छन् ।
जिल्लाको फुलकाहा, सुन्दरपुर, लक्ष्मीनियाँ, भरतपुर, निगौल, रामनगर, बेलगाछी, श्रीपुर, खोपी, सोनमा, पर्सादेवाड र गौशालालगायतका एक दर्जनभन्दा बढी गाविसका बासिन्दा आफ्नो पायकको बजारमा बैंकिङ सेवा नभएपछि मर्कामा पर्दै आएका छन् ।   आफ्नो क्षेत्रको मुख्य व्यापारिक केन्द्र गौशालाबजारमा नेपाल बैंक लिमिटेडको शाखा पुन: सञ्चालनमा नआउँदा धेरै मर्का परेको यसक्षेत्रका बासिन्दाको गुनासो छ । सरकारी स्वामित्वका कुनै बैंक आफ्नो क्षेत्रमा नहुँदा पैसाको सुरक्षा, धितो बन्धकको सुविधा र बचत एवं सुलभ ऋण प्राप्त गर्न टाढाटाढा जान बाध्य भएको गौशालाबजारका बासिन्दा वैद्यनाथ थापाले बताए ।
अहिले सो क्षेत्रका बासिन्दालाई बैंकिङ सेवाका लागि ३० किलोमिटर दूरीस्थित जिल्लाकै बर्दिवास, ५० किमीको दूरीस्थित जिल्ला सदरमुकाम जलेश्वर र छिमेकी जिल्ला सर्लाहीको लालबन्दी एवं धनुषाको जनकपुर पुग्नुपर्ने बाध्यता छ ।
गौशालाबजारबाट द्वन्द्वकालमा विस्थापित जनकपुर शाखामा गाभिएको नेपाल बैंक लिमिटेडको शाखा पुन: सञ्चालनमा नल्याइँदा आफूहरूले निक्कै सास्ती खेप्नु परिरहेको भरतपुरका निवर्तमान अध्यक्ष शम्भु अधिकारी बताउँछन् ।
त्यसैगरी सशस्त्र द्वन्द्वकालमै विस्थापित कृषि विकास बैंक गत वर्ष सञ्चालन गरिए पनि बैंकिङ कारोबार भने नगरिएको गौशालाका व्यापारीले बताएका छन् । जिल्लाकै प्रमुख व्यापारिक केन्द्रमध्येको गौशालाबजारमा व्यापारिक कारोबार दिनानुदिन बढ्दै गए पनि बैंकिङ कारोबार गर्ने बैंक सञ्चालनमा नआउँदा सम्पत्तिको सुरक्षा र कारोबारमा समस्या खेप्नुपरेको व्यापारीहरूको गुनासो छ । आफूहरूको यो समस्यामा स्थानीय प्रशासन र सम्बन्धित निकायले चासो नदिएको गौशालाका व्यापारी अमरचन्द्र साहले बताए ।
यता जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले गौशालामा बैंकिङ कारोबार सञ्चालन गर्न सरकारको उपल्लो निकाय र सरकारी स्वामित्वका बैंकका उपल्लो तहमा निक्कै पहिले सिफारिस गरी पठाइएको जानकारी दिए । अब चाँडै गौशालाक्षेत्रमा बैंकिङ कारोबारसहितको बैंक सञ्चालनमा ल्याउन अन्तिम तयारी भइरहेको जिल्लास्थित स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया