समूह अंकका आधारमा फाइनल प्रवेश

काठमाडौं, १३ जेठ । वर्षाका कारण सेमिफाइनल खेलबीचमै रद्द भएपछि क्षेत्र नम्बर चार भैरहवा राजधानीमा जारी यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । क्षेत्र नम्बर पाँच नेपालगन्जसँगको खेलमा भैरहवालाई अगाडि पठाइएको छ ।
सबै खेलमा जित हात पार्दै भैरहवा समूह बीबाट विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो । समूह एमा रहेको नेपालगन्जले तीनमध्ये एकमा जित र एकमा हार व्यहोरेको थियो । एक खेल भने वर्षाका कारण सञ्चालन हुन नसकेपछि १/१ अंक बाडिएको थियो । नकआउट चरणमा खेल रद्द हुँदा समूह चरणको अंकका आधारमा टोलीलाई अगाडि बढाइने नियम दुर्लभ रूपमा देखिने गरेको छ ।
आइतबार साविक उपविजेता नेपालगन्जले पहिला ब्याटिङ गर्नेक्रममा १२.४ ओभरमा ५ विकेट गुमाउँदै ५४ रन जोडेपछि सुरु भएको वर्षाले अन्तत खेल नै रद्द हुने अवस्थामा पुगेको थियो । फाइनल पुगेको भैरहवाले उपाधिका लागि क्षेत्र नम्बर एक विराटनगरको सामना गर्नेछ ।  विराटनगरले साविक विजेता क्षेत्र नम्बर सात जनकपुरधामलाई ५३ रनले पराजित गर्‍यो । काजोल श्रेष्ठले सानदार लयलाई कायमै राखेपछि विराटनगरले पहिला ब्याटिङ गर्नेक्रममा निर्धारित २५ ओभरमा २ विकेट गुमाएर १३७ रन जोडेको थियो । काजोल श्रेष्ठले नटआउट ५० रन जोडिन् भने कप्तान सम्झना बुढाथोकीले नटआउट ३९ रन जोडिन् । जनकपुरधाम भने २१.१ ओभरमा ८४ रनमा समेटियो । जनकपुरधामका लागि दोहोरो अंक छोएकी एकमात्र खेलाडी सरस्वती चौधरीले १७ रन जोडिन् । २५ अतिरिक्त रन पाएको जनकपुरधामलाई सस्तैमा समेट्नेक्रममा सम्झना बुढाथोकी र यान्जी शेर्पाले समान २ विकेट लिए । सवनम राई, संगीता राई र सपना श्रेष्ठले १/१ विकेट लिए । फाइनल मंगलबार हुनेछ ।

प्रतिक्रिया