पलायन हुन थाले किसान

कञ्चनपुर : बजार मूल्य नपाउँदा कञ्चनपुरको झलारी–२ जुडाका क्यामामाइल जडीबुटीको व्यावसायिक उत्पादनमा लागेका कृषक पलायन हुन थालेका छन्  । यहाँका सयभन्दा बढी विपन्न समुदायका कृषकले एक दशकदेखि एक हजार हेक्टर क्षेत्रफलमा क्यामामाइलको व्यावसायिक खेती गर्दै आएका थिए ।
मेहनत अनुसारको प्रतिफल हासिल नहुने भएपछि अधिकांशले क्यामामाइलको खेती गर्न छाडेको स्थानीय कृषक गगनसिंह महराले बताए । हाल तीन जनाले मात्रै क्यामामाइल खेतीलाई निरन्तरता दिए पनि अन्यले बजार अभावमा खेती गर्न छाडेका छन् ।
गत वर्ष मात्रै क्यामामाइलको तेल बेचेर यहाँका कृषकले ११ लाख रुपियाँ आम्दानी गरेका थिए भने ०६८ सालमा ४० लाख रुपियाँभन्दा बढी आम्दानी गरेका थिए । प्रशोधित तेल बेच्नका लागि नेपालगन्जसम्म पुग्नुपर्ने र व्यापारीहरूले प्रतिफल नै नउठ्ने गरी आफूखुसी मूल्य निर्धारण गरी खरिद गर्ने गरेका कारण क्यामामाइलको खेती गर्ने कृषकहरू निरुत्साहित भई पलायन भएको सुनदेवी उपभोक्ता समूहका अध्यक्ष प्रतापसिंह धामीले बताए ।
विगतका वर्षमा ३० देखि ४० हजार प्रतिकिलोका दरले बिक्री हुने क्यामामाइलको तेललाई व्यापारीहरूले घटाएर १९ हजारभन्दा कममा खरिद गर्न थालेपछि कृषकहरूले सिँचाइ, मल र प्रशोधन गर्दा लाग्ने शुल्कसमेत नउठ्ने भएपछि खेती नै छाडेर भारतमा मजदुरी गर्न गएको उनको भनाइ छ ।
०६१ सालदेखि क्यामामाइलको व्यावसायिक उत्पादनमा लागेका यहाँका कृषकहरूले प्रतिपरिवार वार्षिकरूपमा ७५ हजार रुपियाँदेखि डेढ लाखसम्म आम्दानी गर्दै आएका थिए । जनावरले नोक्सान नगर्ने र अन्न उत्पादन नहुने क्षेत्रमा समेत यो खेती फस्टाउने भएकाले कृषकहरू उत्साही बनेका थिए स्थानीय प्रतिभान बोहराले भने, ‘हाल उत्पादन गरेको तेल बिक्री नहुने र व्यापारीहरूले कम मूल्यमा मात्रै खरिद गर्ने गरेकाले खेती गर्ने क्रम छाड्ने बढेको छ ।’
क्यामामाइलको खेतीमा संलग्नमध्ये २५ कृषक वैदेशिक रोजगारीमा लागेको र बाँकी ७२ कृषक पनि मजदुरी गर्न भारतका कुमाउ, गढवाल, सिमला, नयाँदिल्ली, मुम्मईलगायतका सहरहरूमा गएका छन् ।
मंसिरमा रोपेर चैत/वैशाखमा पाक्ने क्यामामाइल पाँच कठ्ठा जग्गामा करिब एक किलो जति तेल उत्पादन हुने गर्दछ । यसको तेल सुगन्धित सौन्दर्य प्रशाधनका सामग्री र सर्पको विषलाई निको गर्ने भाइल बनाउन प्रयोग हुने गर्दछ । उत्पादित तेललाई नेपालगन्जका व्यापारीहरूले युरोपियन देशहरूमा निर्यात गरी बेच्ने कार्य गर्दै आएको यहाँका कृषकहरूले बताए । क्यामामाइलको प्रशोधन गर्न भारतबाट १८ लाख रुपियाँ भन्दा बढी मूल्यमा खरिद गरेर ल्याइएका तीनवटा प्लान्टसमेत क्यामामाइलको अभावमा खिया लगेर बिग्रिन थालेका छन् ।
जडीबुटीको बजार प्रर्वद्धन गर्नका लागि सरकारले जडीबुटीसम्बन्धी ठोस नीति नबनाउँदासम्म कृषकहरूले ढुक्क भएर खेती गर्नसक्ने अवस्था नरहेको स्थानीय कृषकहरूको भनाइ रहेको छ ।

प्रतिक्रिया