अतिरिक्त विद्युत् कटौती

बर्दिबास : महोत्तरीको मध्यउत्तरवर्ती क्षेत्रका २३ गािवसका बासिन्दाले अतिरिक्त विद्युत्भार कटौतीको मार खेप्नुपरेको छ ।
जिल्लाका मुख्य व्यापारिक कारोबारको केन्द्र रहँदै आएका गौशाला, औरही र सीतापुर बजारलगायतका २३ गाविस बस्तीमा नेपाल विद्युत् प्राधिकरणको औरही सबस्टेसनले प्रत्येक दिन साँझ ६ बजेदेखि १० बजेसम्म अतिरिक्त विद्युत्भार कटौती गर्दा सो क्षेत्रका बासिन्दा थप मारमा परेका हुन् । सबस्टेसनले सेवा प्रवाह गरेका २३ गाविस बस्तीमा अहिले दैनिक १४ घन्टाभन्दा बढी विद्युत्भार कटौती हुने गरेको सो क्षेत्रका बासिन्दाको गुनासो छ । प्राधिकरण जलेश्वर वितरण केन्द्रले जिल्लाभरि लगाएको तालिकामा ७ घन्टा विद्युत्भार कटौती भए पनि औरही सबस्टेसनको सेवा क्षेत्रमा अतिरिक्त चारघन्टा थपिँदा ११ घन्टा विद्युत्भार कटौती हुने गरेको छ । तर, सबस्टेसनको तालिकामा ११ घन्टा लेखिए पनि विद्युत्भार कटौती भने १४ घन्टाभन्दा बढी हुने गरेको औरही बजारका रामबाबु चौधरीले बताए ।
यता जलेश्वर केन्द्रले सबस्टेसन सेवा क्षेत्रमा थप विद्युत्भार कटौती गरिएको स्वीकार गरेको छ । सबस्टेसनको क्षमता अहिले ६ मेगावाट मात्र भएको र विद्युत् खपतको माग आठ मेगावाटभन्दा बढीको रहेकाले विद्युतीय उपकरण र वितरण यन्त्रको सुरक्षाका लागि सो क्षेत्रमा थप विद्युत्भार कटौती गर्नुपरेको केन्द्रका प्रमुख जीतेन्द्र झा बताउँछन् ।
सबस्टेसनको पावर ट्रान्सफर्मर क्षमता वृद्घिका लागि थप ६ मेगावाट बढाउन उपल्लो तहमा माग गरिएको छ । अब मागअनुसारको क्षमता वृद्घि हुनासाथै आउने २० वर्षसम्मका लागि सबस्टेसनले सेवाक्षेत्रको माग पूरा गर्ने प्रमुख झाको भनाइ छ । सबस्टेसन सेवा क्षेत्रका विद्युत् उपभोक्ताले आफ्ना गाउँबस्तीमा सामान्य हावाहुरी र सामान्य वर्षामै विद्युत् तार चुँडिने, खाँवा भाँच्चिने, तार सर्ट हुने र ट्रान्सफर्मर जल्नेलगायतका समस्या दिनहुँ खेप्नुपरेको गुनासो गरेका छन् । पछिल्लोपटकको वर्षासँगै चुाडिएका तार र भाँच्चिएका खाँबा अझै ठीक नगरिँदा लगातार दुई दिनदेखि अँध्यारोमा रात काट्नुपरेको सीतापुर बजारका सैलुन व्यवसायी चन्द्रशेखर ठाकुरले बताए ।
कमसल तार, कमजोर खाँबा र पुराना बिग्रेका ट्रान्सफर्मर आफ्ना गाउँबस्तीमा जडान गरिएकाले यो समस्या लगातार खेप्नुपरेको उपभोक्ताको गुनासो छ । यता केन्द्रले भने गाउँबस्तीमा विद्युत् हुकिङ गर्ने आम प्रवृत्तिले क्षमताभन्दा बढी विद्युत् प्रवाह हुँदा ट्रान्सफर्मर जल्ने समस्या बढेको बताएको छ । उपभोक्तामा हुकिङविरुद्घ राम्रो जनमत नबनेसम्म यसले दु:ख दिइरहने केन्द्रका प्राविधिकले बताएका छन् । सबस्टेसन क्षेत्रका सेवाग्राहीले भने नियमित अनुगमन र हुकिङ गर्नेविरुद्घ गरिने कारबाहीको जिम्मेवारीबाट पन्छेर केन्द्रले उपभोक्तामाथि नै दोष थोपर्नु नाजायज भएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया