सुपारी तस्करी मौलाउँदो

supariकाठमाडौं, १३ जेठ । सुपारी तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’का रूपमा चिनिने काँकडभिट्टा आसपासका नाकामा प्रहरी र तस्करबीच दैनिकजसो मुठभेड हुन थालेको छ । तस्करको ‘ट्रेन्ड’ पहिचान गरेर प्रहरीले कडाइ गरेको छ ।
काँकडभिट्टाको मकलबन्दस्थिति मेची नदीको बगरमा शुक्रबार राति ११ बजे तस्करले ढुंगाले आक्रमण गरेपछि प्रहरीले तीन राउन्ड हवाई फायर नै गर्‍यो । सुपारी तस्करले प्रहरीमाथि ढुंगा बर्साएपछि प्रतिकारमा प्रहरीले हवाई फायर गरेको थियो । उनीहरूबाट प्रहरीले आठ सय केजी सुपारी बरामद गरेको छ ।
डयुटीमा खटिएका प्रहरी निरीक्षक कृष्ण खड्काका अनुसार तस्करले बोर्डर पार गरेपछि प्रहरीमाथि ढुंगा बर्साएका थिए । ‘सुपारी तस्कर पहिल्याउँदै जाने क्रममा हाम्रो टोली मकलबन्द पुग्यो । तस्करले सुपारी बोर्डर पार गरिरहेको भेटिएपछि प्रहरीले रोक्न खोज्यो । उनीहरूले प्रहरीलाई ढुंगा हान्दै बोर्डर क्रस गरे,’ उनले भने ।
सो घटनापछि प्रहरीले शनिबार पनि रातभर नै आसपासका सबै नाका सिल गर्‍यो । एक रातमा ५ हजार केजी सुपारी बरामद गरिएको छ । प्रहरीका अनुसार एकै सातामा ११ हजार केजी सुपारी बरामद भएको छ ।
प्रहरी निरीक्षक खड्काका अनुसार मेची बगरको करिब १८ किलोमिटर बोर्डरको क्षेत्र सुपारी तस्करहरूको प्रमुख अखडा हो । उनीहरूले सोही रुटबाट वर्षौंदेखि सुपारी तस्कर गर्दै आएका छन् । ‘खुला बोर्डर छ, प्रहरीको संख्या कम छ । हामीले जति कडाइ गर्न खोजे पनि कतै न कतैबाट तस्करले आँखा छल्न भ्याइहाल्छन्,’ उनले भने ।
प्रहरीका अनुसार कतिपय नाकाबाट दिउँसै पनि तस्करी हुने गर्छ । यो काममा बालबालिकादेखि महिलासमेत प्रयोग हुने गरेका छन् । बालबालिकाले टिफिन बक्सभित्र लुकाएर सुपारी तस्कर गर्छन् । महिलाले जाँघमा पोको पारेर तस्कर गर्छन् । रिक्साको सिट पछाडि ‘पल्स बटम’ बनाएर समेत सुपारी तस्कर हुने गरेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक खड्काका अनुसार बोर्डर पारी बोरा लिएर ग्राहक तयारी अवस्थामा बसिरहेका हुन्छन् । सीमा पारी रहेकाले उनीहरूलाई नेपाल प्रहरीले पक्राउ गर्न सक्दैन । ‘सुपारी तस्करमा संलग्न हुनेहरूलाई पछ्याउँदै गयो, हेर्दाहेर्दै बोर्डर क्रस गर्छन् । त्यसपछि हामी उनीहरूलाई समाउन सक्दैनौँ, उनीहरूले उल्टै हामीमाथि आक्रमण गर्छन्,’ उनले भने ।
नेपालले तेस्रो मुलुकबाट सुपारी आयात गर्न पाए पनि कानुनत: निकासी गर्न भने पाउँदैन । किनकि सुपारीमा नेपाल आत्मनिर्भर मुलुक होइन । नेपालमा सुपारी प्रतिकेजी ८० देखि १०० रुपियाँमा खरिद–बिक्री हुन्छ । त्यही सुपारी भारतीय बजारमा एक सय ४० देखि एक सय ६० रुपियाँसम्म खरिद–बिक्री हुन्छ ।

प्रतिक्रिया