मंसिरबाट अन्योल हटाउन सकिन्छ : उपराष्ट्रपति झा

ताप्लेजुङ, १३ जेठ ।उपराष्ट्रपति परामानन्द झाले मंसिरमा चुनाव हुनेमा आफू विश्वस्त भएको बताएका छन् । पाथिभरा मन्दिर क्षेत्रलाई प्लास्टिक मुक्त घोषणा गर्न आइतबार ताप्लेजुङ आएका उपराष्ट्रपति झाले संविधानसभाको निर्वाचनले मात्रै मुलुकमा अन्योलता हट्ने बताए ।
निर्वाचन आयोगलाई एक सय २० दिनको समय चाहिने हुँदा मंसिरमा चुनाव हुने र चुनावका लागि चाहिने वातावरण सिर्जना भइरहेको झाले बताए । कांग्रेस, एमालेलगायतका दल तथा अधिकारकर्मीहरूले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको राजीनामा मागिरहेका बेला रेग्मीको राजीनामा माग्नु मूर्खतापूर्ण भएको बताए । मुलुकको निकास चुनावले दिने हँुदा राजीनामाको विकल्प दिनु पर्ने झाको सुझाव छ ।
उपराष्ट्रपति झाले आफू अझै पनि भूमिकाविहीन भएको खुलासा गरेका छन् । यस समयमा आफ्नो भूमिका केही नभए पनि आफू उपराष्ट्रपतिको भूमिकाको खोजीमा रहेको बताएका हुन् । उनले जिल्लाका सरकारी कर्मचारीलाई जनताको हित हुने काम गर्नसमेत निर्देशन दिए ।
प्रशिद्ध तीर्थस्थल पाथिभरा देवीको दर्शनसमेत गर्ने उद्देश्यले ताप्लेजुङ आएका झाले मौसममा आएको परिवर्तनले गर्दा दर्शन गर्न पाएनन् । बिहानैदेखि मौसममा खराबी आएपछि उनी निर्धारित समयभन्दा करिब पाँच घन्टा ढिलो आएका थिए ।
विश्व वातावरण दिवसको अवसरमा जिल्ला पर्यटन विकास समितिको आयोजनामा आयोजित कार्यक्रमा पाथिभरा क्षेत्रलाई स्वच्छ, हराभरा र प्लास्टिक मुक्त भएको घोषणा गरिएको छ । यस अवसरमा उपराष्ट्रपति झाले पाथिभरा क्षेत्र मात्रै नभएर जिल्लालाई नै प्लास्टिक मुक्त गर्नु पर्नेमा जोड दिए । माटोमा प्लास्टिकले ६०/७० वर्षसम्म अस्तित्व राख्ने भएकाले यस्तो काम थालिनु उद्धाहरणीय भएको झाले बताए । ताप्लेजुङको यो भ्रमणले आफूलाई यहाँको रहनसहन, संस्कृति र वस्तुस्थिति बुझ्ने मौका मिलेको उनले बताए ।
कार्यक्रममा ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी किरण थापासँगै जिल्लाका कार्यालय प्रमुख, राजनितिक दलका प्रतिनिधि, नागरिक समाजलगायतको उपस्थिति रहेको थियो । झा नेपाली सेनाको हेलिकप्टरबाट ताप्लेजुङ आएका र सोमबारसम्म ताप्लेजुङमा रहने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया