एमाओवादीले चुनाव हुन दिँदैन : कोइराला

काठमाडौं, १३ वैशाख । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एकीकृत माओवादी चुनाव हुन नदिने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
आइतबार पत्रकारहरूसित कुरा गर्दै उनले एमाओवादी दलहरूबीच भएको ११ बुँदे सहमति र २५ बुँदे बाधाअड्काउ फुकाउ उल्ट्याउन खोजिरहेको बताए । एमाओवादीले चुनाव नचाहेको कोइरालाको दाबी छ । ‘भएको सहमतिमा अडिनुपर्छ, पटकपटक संशोधन गरेर संविधानमाथि खेलबाड गर्न दिनुहुँदैन, माओवादी सहमतिविपरीत जानुले ऊ निर्वाचन विरोधी षड्यन्त्रमा लागेको देखिएको छ,’ उनले भने ।
उपेन्द्र यादव र मोहन वैद्यले थ्रेसहोल्डको विरोध नगरेको अवस्थामा एमाओवादीले साना दलहरूका तर्फबाट राख्न नहुने अडान राखेको भन्दै कोइरालाले आक्रोश व्यक्त गरे । सहमतिविपरीत थ्रेसहोल्ड र संख्याका विरुद्धमा उत्रिएर एमाओवादी चुनावविरुद्ध लागेको उनले बताए । थ्रेसहोल्डमा एमाओवादीले साना दललाई सम्झाउनुपर्नेमा उल्टै उचालेको आरोप पनि सभापति कोइरालाले लगाए ।
दलहरूबीच संविधानसभाको संख्या ४९१ बनाउने सहमति भइसकेकाले त्यसबाट तलमाथि नहुने कोइरालाले बताए । थ्रेसहोल्डको व्यवस्था पनि आगामी चुनावमा गरिने उनले बताए । निर्वाचन आयोगले १ दशमलव ५ प्रतिशतको थ्रेसहोल्ड ल्याएकोमा दलहरूसँगको छलफलपछि एक प्रतिशतमा झारेको स्मरण गर्दै उनले एमाओवादी सहमतिबाट पछि हट्न थालेको बताए ।
नेकपा–माओवादी र फोरम नेपालसहितका प्रमुख पार्टी निर्वाचनमा सहभागी हुन्छन् भने मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशको पद त्याग्न तयार हुनुपर्ने कोइरालाले बताए । चुनावमा गठबन्धन बन्दा दलहरू कमजोर हुने भन्दै कोइरालाले आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन नबनाई आवश्यकताअनुसार चुनावी तालमेल गर्ने बताए ।

प्रतिक्रिया