गोलमाल = जनक शिक्षा

janak siksha samagri 1काठमाडौं, १३ जेठ । विद्यालय तहको पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले पुस्तक बिक्री गरेको तथ्यांक विश्वसनीय देखिएको छैन । १० लाख थान पुस्तक कहाँ बेचिए भन्ने उसको तथ्यांकमा छैन ।
आइतबार शिक्षा विभाग, अभिभावक संघ र पत्रकारहरूको संयुक्त टोलीले गरेको अनुगमनमा जनकले बिक्री गरेका १० लाख थान पुस्तकको तथ्यांक फेला परेन । जनकले १ करोड ३७ लाख पुस्तक बिक्री गरे पनि साझाले १ करोड २१ लाख थान खरिद गरेको र जनक आपैँmले ६ लाख थान पुस्तक बिक्री गरेको भेटिएको छ । बाँकी १० लाख थान पुस्तकको लेखाजोखा छैन ।
‘जनकले बिक्री गरेको १० लाख पुस्तक कहाँ गयो भन्ने थाहा भएको छैन, त्यसको हामी खोजी गर्छौं,’ अनुगमन टोलीमा खटिएका अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले भने । कुल २ करोड २० लाख थान छाप्ने जिम्मा पाएको जनकले अहिलेसम्म १ करोड ९८ लाख पुस्तक छापिसकेको छ । जनकले छापेका ६१ लाख पुस्तकको ब्यान्डिङ गरी तयारी अवस्थामा राखेको छ ।
शिक्षा विभागका उपसचिव दिव्य कट्टेलले जनकले बिक्री गरेको तथ्यांकमा एकरूपता नआएको बताए । ‘जनकले बिक्री गरेको र साझाले किनेको तथ्यांक फरक आयो,’ उनले भने, ‘भोलि फेरि सही तथ्यांक मागेका छौँ । अन्य ठाउँमा पनि गएका हुन सक्छन् ।’ जनकलाई सोमबारसम्म वास्तविक तथ्यांक उपलब्ध गराउन भनेको उनले बताए । बेचिएका पुस्तक कहाँ गए भन्नेबारेमा टोलीले सोमबार फेरि अनुगमन गर्ने भएको छ ।
जनकले मध्यपश्चिम, सुदूरपश्चिम र मध्यमाञ्चल क्षेत्रका लागि विद्यालय तहको १ करोड ९५ लाख थान पुस्तक र पूर्वाञ्चल र पश्चिमाञ्चलको कक्षा ९ र १० का पुस्तक छाप्ने जिम्मा पाएको छ । निजी प्रकाशन गृहले पूर्वाञ्चल र पश्चिमाञ्चलमा कक्षा १ देखि ८ सम्म छाप्ने गर्दछ ।
जनकका वितरण शाखा प्रमुख अर्जुन कुँवरले पुस्तक कतै नहराएको दाबी गरे । उनले बिक्री गरेको पुस्तकको तथ्यांक निकाल्न समस्या परेकाले हराएजस्तो देखिएको बताए । ‘बिक्री भएका पुस्तक कतै गायब भएको छैन,’ उनले भने, ‘हामी सही तथ्यांक दिन्छौँ, शंका मान्नुपर्दैन ।’
त्यस्तै, जनकले छापेका साढे ३९ लाख थान पुस्तक चालु आर्थिक वर्षमा त्यत्तिकै थन्किने भएका छन् । जनकले ६१ लाख छापिसकेको भए पनि अब साढे २२ लाख मात्र आवश्यक छ । साझाले विद्यालय तहका लागि जनकसँग अब साढे २२ लाख थान पुस्तक मात्रै मागेको छ ।

प्रतिक्रिया