२६ जोडीको बिहे गराइयो

Neeta-Poudel-Souryadailyपैसा भएर पनि थुप्रै मान्छे सुखी हुँदैनन्, फुर्सदको अभावमा । कामको चटारोले जीवन तनाबिलो बनाइरहन्छ । छोराछोरीको बिहे, व्रतबन्ध नजिकिँदा महिनौँअघिदेखि तनाब सुरु हुन्छ । त्यसका लागि विभिन्न थरी सामान जुटाउनु आफैँमा चुनौतीमूलक कार्य हो, झन्झटिलो पनि । त्यसमाथि हरेक सामान किन्न फरकफरक पसल चहार्नुपर्छ । नेपालीको संस्कृति नै फरक अनि अनौठोखाले छ । जौ, तिल, कुश, जनैसुपारी, धूपदीपदेखि दुनाटपरीसम्मका सानाभन्दा साना कुरा पनि ख्याल गरिरहनुपर्छ । कामको बेफुर्सदीबीच यी र यस्ता सामग्रीको पनि व्यवस्थापन गर्नु धेरैका लागि टाउको दुखाइ बनिरहेको हुन्छ । तर, हामीसँग आउने हो भने हामी यी सबै झन्झटबाट मुक्त गराइदिन सक्छौँ । आवश्यक सम्पूर्ण सामग्री जुटाइदिन सक्छौँ । पैसा भएर पनि समय व्यवस्थापन गर्न नसकेर छटपटाएकाहरूलाई हामी सजिलो पारिदिन्छौँ ।
लामो समय कर्पोरेट मार्केटिङ क्षेत्रमा काम गर्दा धेरै सिक्ने अवसर पाएँ । त्यतिबेला व्यावसायिक क्षेत्रमा मात्र काम हुन्थ्यो । सामाजिक क्षेत्रमा पनि थप केही गर्नुपर्छ भन्ने लागिरहन्थ्यो । चाहेर पनि व्यस्तताका कारण थुप्रै काम गर्न नभ्याइरहेका नेपालीहरूलाई देखेपछि मलाई यस्तो व्यवसाय गर्ने सोच पलाएको हो ।
बिहे, व्रतबन्ध, पास्नी, वैवाहिक वार्षिकोत्सव, पूजाजस्ता कार्यक्रमका लागि मान्छेसँग समय नै भइरहेको हुँदैन । पहिलेपहिलेजस्तो बिहे–व्रतबन्धमा आफन्त, नातागोताले सघाएर सजिलो हुन्थ्यो । तर, अहिले त कसैसँग फुर्सदै छैन । सबै व्यस्त । पैसा भए पनि बजार गएर सामान किन्न भ्याउँदैनन् । बजार पनि छरिएको छ, सबै सामान एकै ठाउँ पाइँदैन । कतिले भन्न थाले– ‘बजारमा सबै सामान रेडिमेड पाइन थाल्यो, अब बिहेको सम्पूर्ण व्यवस्था मिलाइदिने संस्था पाए झन् सजिलो हुन्थ्यो ।’ अनि हामीले सुरु गर्‍यौँ, व्यवस्थापनकार्य ।
दुई वर्षको अध्ययनपछि आँट गरेर लागिपर्‍यौँ । सुरुमा चल्ने–नचल्ने केही थाहा थिएन । विस्तारै यस्ता संस्था अरूले पनि खोले, अहिले त दर्जनाँै भइसके । कसैलाई बिहे गराउनु छ भने दुलहा–दुलही र पैसा मात्र लिएर आए हुन्छ । बाँकी सबै व्यवस्था हामी मिलाइदिन्छौँ । व्रतबन्धमा पनि त्यही हो । मण्डप बनाउनेदेखि साइपाटा बनाउनेसम्मका काम हामी आफैँ गरिदिन्छौँ । दुई वर्ष भयो हामीले यस्तो सेवा दिन थालेको ।
बिहेका लागि इन्गेजमेन्टदेखि हनिमुनसम्मको प्याकेज छ हामीसँग । ग्राहकले आफूलाई कस्तो सेवा चाहिएको हो त्यो मात्रै भने पुग्छ । हामी यथोचित सल्लाह पनि दिन्छौँ । हाम्रो सल्लाहले उहाँहरूको थुप्रै अनावश्यक खर्च बचेको पनि छ । यस्ता पारम्परिक संस्कारसम्बन्धी कार्यक्रम व्यवस्थापनको अध्ययनका लागि कहिलेकाहीँ भारतका विभिन्न शहर पुग्छौँ । गुगलबाट पनि अध्ययन गर्छाैं ।
अहिलेसम्म पच्चीस–छब्बीस जोडीको बिहे गरायौँ । केही व्रतबन्ध अनि वैवाहिक वाार्षिकोत्सव पनि । अहिले पास्नी र जन्मोत्सवको पनि अर्डर आउने थालेको छ । काठमाडौँबाहिर पोखरा–बुटवलतिर पनि पुगिरहेका हुन्छौँ । टिममा मलाई साथ दिने धेरै छन् । हामी यति सजिलो बनाइदिन्छौँ कि जस्को बिहे हो उसैको परिवारले भन्छ– ‘हामी त अरूको बिहेमा पाहुना आएजस्तो पो भयो ।’ हामीलाई खुसी लाग्छ ।
सहजातीय बिहे सजिलै हुन्छ । अन्तरजातीय बिहेमा चाहिँ दुई फरक संस्कृतिको संयोजन गर्नुपर्ने भएकाले केही कठिन हुन्छ । तर, पनि हामीले आजसम्म कसैलाई गुनासो गर्ने मौका दिएका छैनौँ । कसैले सयवटा साइपाटा चाहिन्छ भन्छन् । उनीहरूले उपलब्ध गराएको रकमअनुसार सबै व्यवस्था मिलाइदिन्छौँ ।
विदेशबाट थोरै दिनका लागि स्वदेश आएर बिहे गरी फर्कनेहरूलाई हाम्रो सेवा विशेष प्रभावकारी बनेको छ । न उनीहरूलाई बजार थाहा हुन्छ न त पर्याप्त समय  । के–के चाहिन्छ, कतिलाई सम्झना पनि भएन । उचित व्यवस्थापन नहुँदा पैसा जति खर्च गरे पनि कार्य खल्लो हुन सक्छ । केही समयअघि एक ग्राहक आएर भने, ‘मलाई तीन दिनभित्र बिहे गर्नु छ, सबै तयार गरिदिनुपर्‍यो ।’ रातारात काम गर्‍यौँ । उनी सन्तुष्ट भए ।
कतिलाई हामीसँग काम गर्दा खर्च बढी होला भन्ने भ्रम छ । आखिर छोराछोरीको बिहे–व्रतबन्ध सबैले गराएकै हुन्छन् । तरिका मात्र फरक हुन्छ । हामीसँग काम गर्दा थप सरल हुन्छ । जसको आर्थिक अवस्था जस्तो छ, त्यसैअनुसार म्यानेज गरिदिन्छौँ । कसैले जग्गेको सामान आफँै व्यवस्था गर्छन् । जे अपेक्षा गर्छन्, त्यहअनुसार गर्छौं हामी । ‘पैसा तपाईंको, सेवा हाम्रो,’ हाम्रो मन्त्र । दाइजो प्राय: आफैँले किन्छन् । रोजाई आआफ्नो हुन्छ । कसैकसैले चाहिँ त्यो पनि हामीलाई नै गर्न लगाउँछन् ।
विदेशबाट बिहे गर्न मात्र नेपाल आएकाहरूको आग्रह हुन्छ, ‘हामी नेपाल नबस्ने भएकाले बिहेका कपडा फेरि उपयोग हुँदैनन् । त्यसैले भाडामा खोजिदिनुस् न, त्यही दिनलाई मात्रै हुने गरी ।’ हामीले त्यो सुविधा पनि सुरु गर्‍यौँ । अनि एकैपटकमा तीनवटा बिहे पनि गराएका छौँ । सिजनमा धेरै अर्डर आउँछ । तर, आफूले सक्नेभन्दा बढी लिँदैनौँ । भ्याउन पनि त पर्‍यो  । थोरैमा हात हाल्ने तर स्तरीय काम दिनु हाम्रो उद्देश्य हो ।
कहिलेकाहीँचाहिँ आवश्यकताभन्दा निकै कम पैसा लिएर आउने पनि हुन्छन् । अनि भन्छन्– ‘जन्ती निकै हुन्छन्, खानपानदेखि सजावट पनि राम्रो हुनुर्पछ ।’ त्यस्तो अवस्थामा हामी केही गर्न सक्दैनौँ । बाध्य भएर फर्काइदिनुपर्ने हुन्छ ।
केही अघि व्यापारी दीपक मल्होत्राकी छोरीको बिहेको व्यवस्थापन गर्‍यौँ हामीले । नेवारी र इन्डियन दुवै परम्परामा मिलाउनुपर्ने थियो । त्यो सफलतापूर्वक गर्‍यौँ । न घरबेटीलाई तनाब न जन्तीलाई । सबै पाहुनाजस्तै हुन्छन् । मल्होत्रा हाम्रो कामबाट धेरै खुसी भए । भन्दै थिए, ‘छोराको बिहेमा पनि तपाईंहरूले नै व्यवस्था मिलाउनुपर्छ ।’ त्यसअघि पनि नेपाली केटी र भरतीय केटाको बिहे गराइसकेका थियौँ । उनीहरूको संस्कृतिमा दुलहाका लागि सेतो घोडा चाहिने रहेछ । दुलहीलाई डोली अनिवार्य । त्यो पनि गर्‍यौँ । भन्दै थिए– ‘हामीले संस्कारमा कुनै फरक पाएनौँ, भारतमै बिहे गरेजस्तो भयो ।’ अरू बेला जे गरे पनि बिहे–व्रतबन्धमा आफ्नो संस्कृति खोज्छ मान्छे । पहिचान आओस् भन्ने चाहन्छ । यसका लागि हामीले अध्ययन पनि त गरेका छौँ । हरेक जातजातिका फरक कलासंस्कृति छन् ।
रवि लामिछानेले सबैभन्दा धेरै समय टेलिभिजन कार्यक्रम चलाएर गिनिजबुकमा नाम लेखाएको कार्यक्रमको व्यवस्थापन पनि हामीले नै गरेका हौँ । सजिलो थिएन । तर, रातदिन केही नभनी सबै मिलायौँ । त्यसैले त रविसँगै हाम्रो संस्थालाई पनि प्रमाणपत्र दिइयो । त्यति ठूलो कार्यक्रममा सेवा गर्ने मौका पाएकोमा खुसी लागेको छ ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया