मैले बुझेको तिब्बत

Binod-Lama-Souryadailyम अहिले पूर्णकालीन सामाजिक कार्यकर्ता हुँ । जीवनमा तोकिएको ड्युटीको जागिरे अनुभव लामो समय बटुलेँ । तोकिएको भूमिका मात्रै गर्नु जागिरेको ड्युटी हो । सामाजिक क्षेत्रमा चाहिँ स्वेच्छाले काम गरिन्छ । जबरजस्ती हुँदैन । आफूलाई महसुस भएको जिम्मेवारी पूरा गरे हुन्छ । अहिले बालबालिकाको क्षेत्रमा काम गरिरहेको छु । त्यसअघि देशको आधिकारिक प्रतिनिधि बनेर पनि काम गरेँ । कुनै देशको प्रतिनिधि भएर जाँदा धेरै जिम्मेवारीबोध हुने रहेछ । आफ्नो व्यक्तिगत आचरणले सिँगो राज्यको चरित्र झल्काउने रहेछ । एक व्यक्तिले गरेको क्रियाकलापमा करोडौँ जनतालाई विश्वसमुदायले हेर्ने दृष्टिकोण बन्ने रहेछ । म तिब्बतको महावाणिज्यदूत भएर दुई वर्ष काम गरेँ । त्यतिबेला अन्तर्राष्ट्रिय समुदायले एक प्रतिनिधिको व्यवहारमा आधारित भएर सिँगो देशप्रति गर्ने व्यवहार पनि महसुस गरेको छु ।
२०५३ सालमा नियुक्ति हातमा लिएर सिँगो नेपालको प्रतिनिधित्व बोकेर तिब्बततर्फ लागेको थिएँ । ३८ वर्षको थिएँ त्यतिबेला । मसँग जोस थियो, देशको विकासका लागि केही गर्छु भन्ने उत्साह पनि थियो ।
२०५३ सालमा मनमोहन अधिकारीको नेतृत्वमा सरकार थियो । नेकपा एमालेको सरकार अल्पमतमा बनेको थियो । मनमोहन अधिकारीले संसद् भंग गरेर चुनावको घोषणा गरेका थिए । त्यसअघि गिरिजाबाबुले भंग गर्दा संसद पुनस्र्थापना भएको थिएन । तर, मनमोहनले संसद् भंग गरेपछि सर्वोच्चमा परेको रिटले संसद् पुनस्र्थापना गर्ने आदेश दियो । संसद् पुनस्र्थापना भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारमा सहभागी भएको थियो । नेपालमा नयाँ सरकार बनेपछि राजनीतिक नियुक्ति हुनु त सामान्य नै हो ।
म पनि त्यही नियुक्तिअन्तर्गत तिब्बतको महावाणिज्यदूतमा नियुक्त भएँ, राप्रपामार्फत । राजनीतिक नियुक्ति भए पनि मैले राजनीतिको खोल त्यागेर जिम्मेवारीको काँध थापेको थिएँ । मेरो प्रमुख जिम्मेवारी तिब्बतमा बस्ने नेपालीको हकहितका लागि काम गर्नु थियो । महावाणिज्यदूत भएपछि व्यापार विस्तारमा पहल, सडक विस्तार, चरन क्षेत्रको सम्झौता नवीकरणलगायत काम गरेँ । तिब्बतको महावाणिज्यदूत भएर दुई वर्ष काम गरेँ । हामीले तिब्बत र नेपालको सम्बन्धका बारेमा हरेक तीन महिनामा सरकारलाई प्रतिवेदन बुझाउने गर्छौं । त्यो सिस्टम सधैँ रहन्छ । प्रतिवेदनमा नेपालका तर्फबाट देशको विकासको लागि गर्नुपर्ने थुप्रै कुरा उल्लेख हुन्छ । तर, सरकारबाट सुनुवाइ एकदमै न्यून । त्यसैले तिब्बतसँगको व्यापार विस्तारलगायत आर्थिक लाभ हुने काम गर्न सकिने थुप्रै सम्भावना भएर पनि नेपाल सरकारले ध्यान दिन नसक्दा चुकिरहेको छ ।
तिब्बतले नेपाललाई तटस्थ रूपमा हेरेको मेरो अनुभवले बताउँछ । तिब्बतले नेपालबाट तिब्बतविरोधी कुनै गतिविधि नहोस् भन्ने अपेक्षा राख्छ । नेपाल आर्थिक विकासमा सक्षम भएको पनि हेर्न चाहन्छ ।  यद्यपि, सीमा क्षेत्रमा नेपाल सरकारले चासो नदिँदा नेपाली भूभाग मिचिएको अवस्था पनि छ । कहिलेकाँही तिब्बती सैनिकले नेपाली क्षेत्रमा आएर सर्वसाधारणलाई दु:ख दिने घटना पनि हुन्छन् । यस्ता विषयमा सरकारले चासो दिन जरुरी छ । मैले दुई वर्षे कार्यकालको समयमा नेपाल र चीनसम्बन्धमा बुझेका यिनै कुरा हुन्  ।
सरकारको प्रतिनिधि भएर तिब्बतको कार्यकाल पूरा गरिसकेपछि म पुन: सामाजिक काममा फर्किएको छु  । नेपाल आएपछि अनाथ बालबालिकाको शिक्षाको क्षेत्रमा क्रियाशील रहेँ । मातातीर्थमा अनाथ बालबालिकाका लागि विद्यालय खोलेर निर्देशकको रूपमा काम पनि गरेँ आठ वर्षसम्म । हिजोआज भने अपांग बालबालिकाका लागि काम गरिरहेको छु ।
प्रस्तुति : प्रतिमा

प्रतिक्रिया