प्राचीन प्रविधि र मूर्तिहरू जीर्ण बन्दै

उदयपुर, १२ जेठ । उदयपुरको पहिचानको रूपमा रौतामाई, ऐतिहासिक चौदण्डिगढी, साततले बैरागी गुफा, रमणीय भुङजुङ डाँडा, चित्रे थान, ताप्ली पोखरी लगायतका धार्मिक स्थलहरू यहाँका मुख्य सम्पत्ति र पहिचान हुन् । तैपनि, सोचे अनुरूप यहाँको विकास नहुँदा यी सम्पतिहरू ओझेलमा पर्दै गएका छन् । सदरमुकाम देखि धेरै टाढा रहेका धरोहर संरक्षण गर्न सम्भव नभए पनि सदरमुकामकै काखमा निर्माण भएका धरोहरलाई संरक्षण गर्न यहाँका सरोकारवाला निकायहरूको आँखा पुग्न सकेको छैन । राजनीतिक खिचातानीले पिरोलिएका नेताहरूले विकास गर्नुभन्दा विनाश गर्नतिर लागेपछि उदयपुर पछि परेको भन्न सकिन्छ । ६ वर्ष अगाडि सदरमुकाम गाईघाटमा निर्माण भएका धरोहर पनि ओझेलमै छन् ।
तिमी जाँतो पिन्दै गर बजु, म मकै लिएर आउँछु,
श्रमिक दाइलाई भोक लाग्यो होला, म खाजा लिएर आउँछु ।
गाउँमा पहिरो गएछ बजु, बाटो खन्न जानै पर्छ
तिर्खा लागे मलाई बजु, भाती जाँड लिएर आउँछु ।
तल्ला गाउँमा पखालाले, कुम्हाले बा सिकिस्त छन् रे
रगतको साइनो हाम्रो स्वास्थ्य चौकी लिएर आउँछु ।
तिमी जाँतो पिन्दै गर बजु, म मकै लिएर आउँछु
श्रमिक दाईलाई भोक लाग्यो होला, म खाजा लिएर आउँछु ।
यी शब्दहरूले वास्ताविकतालाई उतारेर पस्किएका पंक्ति र ज्ञान विज्ञान कुञ्जमा अवस्थित मूर्तिहरूले साँच्चि नै नेपाली पन झल्काइरहेको छ । विश्व मानचित्रमा सुन्दर भूमिको रूपमा मानिएको हाम्रो देशमा मनोरञ्जनमुखी पर्यटन केन्द्रहरू प्रशस्त छन् । तथापि, विश्वको समय सापेक्ष, नयाँ मौलिक विशेषता भएका गन्तव्य स्थलको अभाव भने उक्तिकै खड्िकरहेको छ । यीनै कुराहरूलाई मध्यनजर गरी ज्ञानविज्ञान कुञ्जलाई एउटा छुट्टै मौलिक र अद्वितीय पर्यटन स्थलको रूपमा परिकल्पना गर्ने प्रयास नगरिएको पनि होइन । तर, पछिल्लो समयमा ती धरोहरको विकास र संरक्षणको लागि कसैको ध्यान जान सकेन ।
उदयपुर सदरमुकाम गाईघाटस्थित भगवती मन्दिर परिसरभित्र निर्माण गरिएका यी धरोहरूहरूले सदरमुकाम गाईघाटवासी, सरोकारवाला निकाय र पर्यटकलाई चिहाइरहेका छन् । तर, ती कला कौशलमा भने कसैको नजर पुगेको छैन । उदयपुरवासिका लागि गौरव गाथा गाउने यी धरोहर निर्माण सम्पन्न नहँुदै जिर्ण बन्ने अवस्थामा पुगेका छन् । श्रमिक पार्कको नाम दिएर ६ वर्षअघि कलाकार विक्रम श्रीद्वारा निर्माणकार्य सुरुगरिएको भए पनि राजनीतिक परिवर्तनसँगै उत्पन्न आर्थिक अभावका कारण सो कुञ्जस्थित श्रमिक पार्कले पूर्णता पाउन सकेन । पटकपटक निर्माण कार्य रोकिएको पार्कलाई स्थानीय निकायबाट रकम जुटाएर पूर्णरूपमा निर्माण गरिए पनि पर्यटक नपुग्दा ओझेलमा पर्दै गएको हो ।
नगरकै मुख्य आकर्षक स्थानमा रहेको सो कुञ्जको क्षेत्रभित्र श्रमिक पार्क निर्माणका लागि त्रियुगा नगरपालिकाले स्थानीय स्वायत्त शासन सामुदायिक विकास कार्यक्रममार्फत ६ लाख ७७ हजार, जिल्ला विकास समितिबाट दुई लाख र नगरपालिकाको आन्तरिक श्रोतबाट नौ लाख ५८ हजार रकम उपलब्ध गराएपछि निर्माणकार्यले पूर्णता पाएको थियो ।
नेपाली प्राचीन प्रविधिलाई जस्ताको तस्तै उतारेर प्रस्तुत गरिएको सो पार्कभित्र तेल पेल्दै गरेको कोल, कुमालेले भाँडा बनाउँदै गरेको चक्र, जाँतो पिन्दै गरेकी नेपाली महिला, ध्यानमा मग्न भगवान् शिवजी, श्रममा तल्लीन विरूपाक्ष, गाग्रीबाट जलाधार गर्दै गरेकी महिलालगायत ढिकी, पानीघट्ट, बुद्धको मूर्ति, घिर्लिङ र साइकस जातको विश्वको पुरानो भनिएको वनस्पतिलगायतका पुराना कला, कृति र प्रविधिलाई देखाइएको सो पार्क खुला संगाहालयका रूपमा निर्माण भएको थियो । श्रमिक पार्कको निर्माण भएपछि त्यहाँको कलाकृति अवलोकन गरी मनोरञ्जन गर्न आउने युवायुवतीको निकै भीड लाग्ने गरे पनि प्रवेशमा निषेध गरिएकाले ओझेलमा परेको हो ।
यस विषयमा स्थानीय विकास अधिकारी गोपालकुमार अधिकारी र  त्रियुगा नगरपालिकाका कार्यकारी अधिकृत खिलराज राईले यस विषयमा आफूहरूलाई केही जानकारी नभएकोले तत्कालका लागि कुनै योजना नभएको बताए । कुञ्ज संरक्षणको लागि कसैले ध्यान नदिँदा बेबारिसे बन्दै गएको हो ।

प्रतिक्रिया