दुव्र्यसनीको अखडा बन्यो शान्तिटोल

धनगढी, १२ जेठ । धनगढीस्थित शान्तिटोल दुव्र्यसनीहरूको अखडा बनेको छ । बजार छेउमा रहेको यो टोल दुव्र्यसनीको अखडा बनेपछि स्थानीय त्रसित बनेका छन् ।
धनगढी नगरपालिका–१ अन्तर्गत पर्ने शान्तिटोल जिल्ला प्रशासन, जिल्ला प्रहरीलगायतका अन्य मुख्य सरकारी कार्यालय नजिकै रहेको छ । यो टोलमा चरेस, गाँजा, तथा औषधिजन्य लागुऔषधका लागि प्रमुख अखडा रहेको स्थानीयवासीले बताए ।
लागुऔषध दुव्र्यसनीका कारण दिनहुँ कुनै न कुनै अप्रिय घटना घटिरहने भएकाले महिला र बालबालिकाहरूलाई साँझतिर हिँडडुल गर्न साह्रै अप्ठ्यारो हुने गरेको टोलकी महिला स्वास्थ्य स्वयंसेविका तथा महिला सशक्तीकरण केन्द्रकी अध्यक्ष सुशीला विकले बताइन् ।
‘टोल तथा बाहिरका दुव्र्यसनी आएर शान्तिटोललाई लागुऔषधको अखडा बनाएको छ,’ विकले भनिन्, ‘यसलाई रोक्न स्थानीयस्तरमा विभिन्न कार्यक्रम गर्नुका साथै प्रहरी प्रशासनलाई पनि अनुरोध गर्दा पनि केही सुधार भएन् ।’ यो टोलमा विशेषगरी पहाडीमूलका दलित समुदायको बसोबास छ ।
यहाँका खेतबारीमा प्रशस्त मात्रामा गाँजाका बोट रहेका छन् । स्थानीयले त्यही बोटबाट चरेस र गाँजा बनाउने गरेका छन् । भने टोलका केही व्यापारीहरूले सीमावर्ती भारतीय बजारबाट औषधिजन्य लागुऔषध ल्याएर बेच्ने गरेका छन् ।
हामीहरूले टोलमा लागुऔषध नियन्त्रण गर्न सबैतिर सहयोग मागे पनि आश्वासनबाहेक अरू केही सहयोग नपाएको टोलवासीको गुनासो रहेको छ । उनीहरूले स्वयं प्रहरीहरू नै टोलमा आएर चरेस र गाँजा सेवन गरेर जानाले पनि दुव्र्यसनीहरूले प्रश्रय पाएको बताए ।
टोलमा रहेका केही व्यापारीहरूले प्रहरी नै ग्राहक भएपछि हाक्काहाक्की रूपमा अवैध लागुऔषध बेचविखन गर्ने गरेको टोलकी महिला अगुवा सरिता विकले बताइन् । खुलेयाम लागुऔषध ओसारपसार र सेवनका कारण युवापुस्तालाई कुलतमा फसी बिग्रेको विकको भनाइ छ । पहिले टोलका मात्र युवाहरू सेवन गर्नेगरेकोमा आजभोलि बाहिरबाट पनि दुव्र्यसनी केटाहरू आउने गरेका छन् । यसले गर्दा दिनहुँ झै–झगडा भई टोलमा अशान्ति हुनेगरेको छ विकले भनिन् ।
यसैबीच दुव्र्यसनीका कारण शान्तिटोल अशान्त बनेपछि केही दिन पहिले जिल्ला महिला पैरवी मञ्च र शान्तिटोलस्थित महिला सशक्तिकरण केन्द्रको पहलमा महिलाहरूको अगुवाइमा लागुऔषध नियन्त्रण गर्न सो ठाउँमा नाराजुलुससहित र्‍याली निकालिएको थियो ।
यसबारे कैलाली प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलले सो क्षेत्रमा तत्काल प्रहरीको टोली खटाई लागुऔषध नियन्त्रणतर्फ लाग्ने बताए । उनले टोलमा रहेका दुव्र्यसनी र लागुऔषधमा संलग्न व्यक्तिहरू बारे प्रहरीलाई जानकारी दिन शान्तिटोलका बासिन्दालाई आग्रह गरेका छन् ।

प्रतिक्रिया