महन्थको बैठक मधेसी नेताद्वारा बहिष्कार

काठमाडौं, १२ जेठ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस केन्द्रित दलहरूबीच एकता र सहकार्य गर्न बोलाएको बैठकमा प्रमुख मधेसी दलका शीर्ष नेताले बहिष्कार गरेका छन् ।
तमलोपाका अध्यक्ष ठाकुरले बुद्ध जयन्तीको अवसरमा शनिबार मधेसी नेताहरूलाई बैठक बोलाई आगामी दिनमा मधेस दल कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्ने कार्यक्रम राखेका थिए ।
बैठकमा सहभागी हुनका लागि तमलोपाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका विजय गच्छदार, महेन्द्र यादव, उपेन्द्र यादव र राजकिशोर यादवलगायत सबैलाई बोलाएका थिए ।
बैठकमा शीर्षनेताहरूको सहभागिता नरहे पनि तराई मधेस राष्ट्रिय अभियानका नेता जयप्रकाश गुप्ता, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी अन्य पार्टीका नेताहरू अनिल झा, सरिता गिरी, कौशलेन्द्र शर्मा, अमर यादव, देवेन्द्र मिश्र, खुसीलाल मण्डल लगायतका नेताहरू भने आएका थिए  ।
बैठकमा १३ मधेसी दलका नेताहरूको उपस्थिति रहेको तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लालले जानकारी गराए । ‘शीर्ष नेता नआए पनि हामीले आजको बैठक उपलब्धिमुलक भयो’ बैठकमा सहभागी एक नेताले भने, ‘ठाकुरजीको प्रयास सबैले मधेसी हितको लागि भएको भनेका छन् ।’ ठाकुरको प्रयासलाई सकारात्मक भन्दै सहभागी नेताहरूले यसलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरेका थिए । ठाकुरले मधेसी दलका शीर्ष नेता एनेकपा माओवादीसँग गठबन्धन गरेपछि रुष्ट हँुदै आएका थिए । उनले एमाओवादीसँगको सहकार्य तोडेर मधेसी केन्द्रित दल एक बनाउने प्रयासमा लागेका छन् ।
ठाकुरले चियापानका लागि बोलाएको र छलफलका लागि कुनै एजेन्डा नरहेको भन्दै नितान्त अनौपचारिक भएको बताए पनि मधेसी दलको आगामी निर्वाचनमा अपनाउने विषयमा छलफल भएको थियो । कतिपय नेताहरूले व्यस्तता र आफ्नो अस्वस्थ्यता जनाउँदै अनुपस्थित भएको जानकारी गराएको लालले बताए । उनका अनुसार महेन्द्र यादव र राजकिशोर यादवको पार्टीबाट प्रतिनिधिमूलक सहभागिता रहेको थियो ।

प्रतिक्रिया