माग सम्बोधनको प्रतिबद्धतापछि आन्दोलन रोकियो

sardulराजविराज, ११ जेठ । गृहमन्त्री माधवप्रसाद घिमिरेले पूर्वसभासद् सदरुल मियाँ हकको हत्यामा संलग्न दोषीलाई चाँडै पत्ता लगाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएपछि स्थानीयवासीको आन्दोलन रोकिएको छ । पूर्वसभासद् हकको हत्यापछि आक्रोशित स्थानीयवासीले अवरुद्ध गरेको पूर्व–पश्चिम राजमार्ग चार दिनपछि सुचारु भएको छ । गृहमन्त्री घिमिरेले घटनस्थल पुगी माग सम्बोधनको प्रतिबद्धता जनाएपछि हकको शवलाई शुक्रबार नै दाहसंस्कार गरिएको छ ।
हकका आफन्त र समर्थक गृहमन्त्री नआई शव नउठाउने अडानमा थिए । शुक्रबार विहान घटनास्थल कल्याणपुर–२ स्थित विसनपुर चौक पुगेका मन्त्री घिमिरेले सञ्चारकर्मीसँग स्थानीयवासीको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए । पूर्वसभासद् हकको हत्याप्रति दु:ख व्यक्त गर्दै मन्त्री घिमिरेले हत्यारालाई कानुनी दायरामा ल्याउनका लागि सुरक्षा संयन्त्र परिचालन गरिसकेको जानकारी दिँदै  हत्यामा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए ।
बिहान करिब साढे ८ बजे हेलिकोप्टरमार्फत राजविराजस्थित नेपाली सेनाको कृष्णदल गणमा उत्रिएका घिमिरे पूर्वाञ्चलका सम्पूर्ण सुरक्षा निकायका प्रमुखसहित विसनपुर पुगेका थिए । उनले पूर्वसभासद् हकको पार्थिव शरीरमा फूल अर्पण गरी श्रद्धाञ्जली दिएका थिए ।
गृहमन्त्री घिमिरे र स्थानीयबीच राजविराजस्थित सगरमाथा अञ्चल प्रहरी कार्यालयमा वार्ता भएको थियो । मृतक हकका आफन्त तथा समर्थकको १० बँुदे मागपत्रमा मन्त्री घिमिरेले सहमति जनाएको वार्ता समितिका सदस्य इर्साद अन्सारीले जानकारी दिए । हत्यारालाई कारबाही, घटनाको सत्यतथ्य छानबिन, मुस्लिम न्यायिक आयोग गठन गर्नुपर्ने र त्यसको
सिफारिसअनुसार मुस्लिम अगुवाको सुरक्षा व्यवस्था मिलाउनुपर्ने, २०६९ सालमा हककै नेतृत्वमा रहेको मुस्लिम संघर्ष गठबन्धन र सरकारबीच भएको सहमति कार्यान्वयन गर्नुपर्नेलगायत विषयमा सहमति भएको अन्सारीले बताए ।
पीडित परिवारलाई राहत दिनुपर्ने, मधेसी मुस्लिम तथा अल्पसंख्यक समुदायको शान्तिसुरक्षाका लागि विशेष पहल गर्नुपर्ने लगायतका मागसमेत
सम्बोधन गर्ने प्रतिबद्धता मन्त्रीले जनाएको उनले जानकारी दिए । न्यायिक छानबिन समितिको प्रतिवेदन आएपछि सहिद घोषणा गर्ने विषयमा छलफल गर्न सकिने मन्त्रीले बताएको अन्सारीले जानकारी दिए । गृहमन्त्री घिमिरे हेलीकोप्टरमार्फत शुक्रबारै काठमाडौं फर्किसकेका छन् ।
०६४ सालको संविधानसभा चुनावमा स्वतन्त्रबाट निर्वाचित हकको गत मंगलबार बिहान अज्ञात समूहले विसनपुर चौकीस्थित उनकै हुमा पेट्रोलपम्पमा धारिलो हतियार प्रहार गरी हत्या गरेको थियो । घटनाको सरकारद्वारा गठित छानबिन समिति र न्यायिक छानबिन समितिले अनुसन्धान गरिरहेको छ । छानबिन समितिले सात दिन र न्यायिक छानबिन समितिले एक महिनामा प्रतिवेदन बुझाउने गरी काम गरिरहेको छ ।

प्रतिक्रिया