थ्रेसहोल्ड नराख्न तीन दलका नेताको एकै स्वर

काठमाडौं, ११ जेठ । एकीकृत माओवादी, तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) र संघीय समाजवादी पार्टीका नेताहरूले निर्वाचन कानुनमा ‘थ्रेसहोल्ड’ राख्न नहुने बताएका छन् ।
राजधानीमा शुक्रबार आयोजित एक साक्षात्कारमा उनीहरूले पुरानै निर्वाचन ऐनअुनसार संविधानसभा चुनाव गर्नुपर्ने बताए । उनीहरूको भनाइ छ, ‘सिट संख्या प्रतिशत पुरानै कायम हुनुपर्छ  र थ्रेसहोल्ड राख्न खोज्नु चुनावपछि ढकेल्ने चालबाजी मात्र हो ।’
एमाओवादी नेता वर्षमान पुनले थ्रेसहोल्डको कुरा बद्मासी मात्र भएको बताए । ‘दुनियाँको कुनै पनि संविधानसभामा थ्रेसहोल्ड हुँदैन,’ उनले भने । उनले आफ्नो पार्टीले काहीँकतै पनि थ्रेसहोल्ड राख्नेमा सहमति नगरेको स्पष्ट पार्दै माओवादी त्यसबाट पछि हट्यो भन्नु झुटो भएको बताए । ‘हाम्रो पार्टीले काहीँ पनि थ्रेसहोल्डको विषयमा सहमति गरेको छैन,’ उनले भने, ‘माओवादीपछि हट्यो भन्ने सरासर झुटो हो । हाम्रो पार्टी थ्रेसेहोल्डको विपक्षमा छ ।’
उनले थ्रेसहोल्ड संघीयता, समावेशी र समानुपातिक पक्षधरलाई संविधानसभामा आउन नदिने खेल भएको बताए । संविधानसभाको संख्या घटाउन सकिने भए पनि अनुपातमा तलमाथि हुन नसक्ने उल्लेख गर्दै उनले सडकमा उठिरहेको मागलाई सम्बोधन गर्न पनि समानुपातिक प्रतिशत घटाउन नसकिने बताए । उनले कांग्रेस एमालेले बाहिर भन्ने एउटा र गर्ने अर्को गरेर मंसिर मसान्तमा निर्वाचन गर्नेबाट पछि हट्ने शंका गर्ने गतिविधि गरिरहेका बताए ।
उनले अहिलेको सरकारले विगत सरकारले कानुनी र प्रक्रियागत रूपमा बनाएको आयोग र नियुक्ति विघटन र खारेज, सरुवा अब नरोके सरकार विवादमा पर्दै जाने बताए । त्यसो गर्दा कांग्रेस र एमालेले जे भने त्यहीँ मानेको हुने उनको भनाइ थियो ।
तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले थ्रेसहोल्डमा आफ्नो पार्टीको विमति रहेको बताए । ‘थ्रेसहोल्डमा हाम्रो पूर्णविमति छ,’ त्रिपाठीले भने, ‘थ्रेसहोल्ड संविधानसभा चुनावलाई पछाडी ढकेल्ने खेल मात्रै हो ।’
उनले चार शक्तिबीचमा थ्रेसहोल्डबारे काहीँ पनि सहमति नभएको स्पष्ट पारे । ‘निर्वाचन ऐनसम्बन्धी कुनै पनि सहमति भएको छैन । संविधानसभा चुनावका लागि निर्वाचन आयोगलाई सहयोग गर्ने भन्दा अर्को सहमति भएको छैन,’ त्रिपाठीले भने । उनले निर्वाचन ऐनलाई सामान्य मिति संशोधन गरेर मिति घोषणा गर्नुपर्ने बताए ।
संघीय समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठले संविधानसभामा सबैको स्वामित्व होस् भन्नका लागि थ्रेसहोल्ड राख्न नहुने बताए । ‘थ्रेसहोल्ड संसदमा राख्दा हुन्छ संविधानसभामा राख्न हुँदैन,’ श्रेष्ठले भने । उनले कांग्रेस र एमालेले नमाने पनि राष्ट्रिय जनमत र पहिलेको राष्ट्रिय सहमतिको आधारमा जे छ त्यहीँ राखेर निर्वाचन बाधाअड्काउ फुकाएर मिति घोषणा हुनुपर्ने बताए ।

प्रतिक्रिया