पाँच वर्षीया बालिका बलात्कृत

सिराहा : सिरहाको सोनमती मझौरा गाविस वडा नम्बर ४ स्थित पाँच वर्षीया बालिकालाई ५० वर्षीय पुरुषले बालात्कार गरेका छन् । सोही गाविस वडा नम्बर ६ बस्ने ५० वर्षीय मोहमद रुदल भनिने मोहमद ईसुफ मियाँले २०७० जेठ ८ गते राति ९ बजे बलात्कार गरेको पीडित परिवारले बताएका छन् । पीडित परिवारका अनुसार सो दिन राति खाना खाएर सुतेकी बालिकालाई ईसुफले बालिका सुतेकै कोठामा गएर बलात्कार गरेको हो । बालिकाकी आमाका अनुसार बालिका सुतेको कोठामा आफू पुग्दा बालिका अचेत अवस्थामा रहेकी र बालिकाको शरीरबाट रगत बगेको देखेर तत्कालै छिमेकीहरूलाई जम्मा पारेको बालिकाकी आमाले बताइन् । छिमेकीहरू जम्मा हुनथालेपछि आरोपित मियाँ फरार भएको स्थानीयहरूले बताएका छन् ।
बालिकालाई जेठ ९ गते बिहान सामान्य उपचार गराएको र ठीक नभएपछि बिहीबार बेलुका लहान अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । लहान अस्पतालमा बालिकाको उपचार सम्भव नभएपछि बालिकालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरे पनि पीडित परिवारले दबाबका कारण बालिकालाई घरमै राखिरहेका छन् ।
घटनाको अनुसंधानका लागि प्रहरी परिचालन गरेको र आरोपीको खोजतलास भइरहेको वडा प्रहरी कार्यालय लहानका डिएसपी हरिराज वाग्लेले बताए । शुक्रबार बिहान सिरहाका अधिकारकर्मीहरूको एक टोलीले घटनास्थल पुगेर अनुगमन गरेका छन् । अनुगमन गर्ने संस्थामा मुक्ति नेपाल, ओरेक नेपाल, मानवअधिकार संरक्षण केन्द्र संजाल सिरहा रहेका छन् । अनुगमन गरेर फर्केकी हेमा कार्कीका अनुसार बलात्कार जस्तो जघन्य अपराधको घटनालाई गाउँमा मिलाउने प्रयास भइरहेको र पीडित परिवारले बिहीबार नै जानकारी गराए पनि प्रहरीले घटनाबारे चासो नदेखाएको अधिकारकर्मीहरूको भनाइ छ । शुक्रबार बिहान अधिकारकर्मीहरू वडा प्रहरी कार्यालय पुगेपछि प्रहरीको टोली पीडित र पीडकलाई खोज्न घटनास्थलतर्फ गएका थिए ।

प्रतिक्रिया