काठमाडौं, १० जेठ । कप्तान कर्ण लिम्बूको ह्याट्रिक मद्दतमा बिहीबार सरस्वती युथ क्लबलाई ६–१ ले हराउँदै मच्छिन्द्र क्लब राजधानीमा सुरु गोर्खा कप फुटबल प्रतियोगितामा सानदार सुरुआत गर्न सफल भएको छ । प्रतियोगिताकै पहिलो खेलमा गोलको वर्षा हुनेक्रममा मच्छिन्द्रका लागि विशाल राई ए, अजय विक र दिलन लोक्तानले गोल गरे ।
करिब आधा मात्र पुराना खेलाडीका साथ उत्रिएको मच्छिन्द्रको जितमा कप्तान लिम्बूको सानदार लय लोभलाग्दो रह्यो । उत्तिकै राम्रो लयमा अग्रपंक्तिमा देखिएका विशालले पनि कर्णलाई राम्रो अवसर दिए । लगातार दुई अवसर खेर गएपछि मच्छिन्द्रले विशालमार्फत १९औँ मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा कर्णले गोल गरी मच्छिन्द्रलाई मध्याह्नअघि २–० ले अगाडि राखे । अन्तिम २३ मिनेटमा मच्छिन्द्रले चार गोल थप्यो ।
६७औँ मिनेटमा एनआरटीका पूर्वखेलाडी तथा यसै सिजन मच्छिन्द्रमा आवद्ध भएका अजयले गोल गरे । ८५औँ मिनेटमा गोल गरी कर्णले ह्याट्रिक पूरा गर्न पाँच मिनेट अघि गोल गर्दै उनी ह्याट्रिकको सम्भावनामा देखिएका थिए । तत्कालीन कप्तान दीपक राई तथा अर्का प्रभावशाली खेलाडी विशाल राई एले छाडेपछि मच्छिन्द्र यस प्रतियोगितामा केही अन्य क्लबका खेलाडीलाई भित्र्याएर नयाँ अनुहारसहित प्रस्तुत भएको थियो । गत सिजन मच्छिन्द्रले जावलाखेलको अधिकांश खेलाडीलाई भित्र्याए पनि सो टोलीका केही खेलाडी मात्र अहिले क्लबमा आवद्ध छन् । एनआरटीका दुई प्रभावशाली मिडफिल्डर अजय र सुशील केसीलाई भित्र्याएर मच्छिन्द्रले आफ्नो शाख जोगाउने प्रयास गरेको छ । यद्यपि, एकजना पनि विदेशी खेलाडी मच्छिन्द्रको टोलीमा अहिले छैनन् ।
गत सिजन लिगमा अप्रत्यासित नतिजा दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका योना एलियाससहित दुई विदेशी फर्वाडले क्लब छाडेपछि पुरानो लयमा नदेखिएको सरस्वती बिहीबारको खेलमा कमजोर देखियो ।
प्रतिक्रिया